काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले मातृभाषा तथा शिक्षा चेतनाको मेरुदण्ड भएको बताएका छन् । शनिबार स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा तालिम कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थिङले यस्तो बताएका हुन् ।

खानीखोला गाउँपालिकाको सहयोग, भाषा आयोग, काठमाडौँको सहकार्य तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति काभ्रेको आयोजना ५ दिने तालिम शुरु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले खानीखोलामा शिक्षामा आम नागरिकले अनुभुति र देखिने गरी परिवर्तन ल्याउने प्रतिबद्धता जाहेर गरे । मातृभाषा शिक्षा बालबालिकाको नैसर्गिक अधिकार मात्र नभइ शिक्षा आर्जन गर्न सबैभन्दा उत्तम प्रणाली भएको बताए । गाउँपालिकाले मातृभाषा शिक्षामा जोड दिइएको समेत कार्यक्रममा बताए ।

यसैबीच गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले भाषा भनेको आमा भएको बताउँदै शिक्षालाई राजनीतिकरण गर्न नहुनेमा जोड दिए ।

तालिम ‘मातृभाषा तथा स्थानीय विषयमा शिक्षा, गुणस्तरीय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता’ भन्ने मुल नारा सहित आजदेखि चैत्र ८ गतेसम्म सञ्चालन हुने गरी शुरु आयोजकले बताएका छन् । तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँगै जनप्रतिनिधि लगायतको सहभागी रहेका छन् ।

तालिमको उद्घाटन सत्रमा नेपाल तामाङ घेदुङ केन्द्रिय समितिको महासचिव काजीमान तामाङ, शिक्षाविद् डा. विद्यानाथ कोइराला, भाषाविद् डा. लोकबहादुर लोप्चन, खानीखोला गाउँपालिकाको शिक्षा शाखा प्रमुख विष्णुबहादुर अधिकारी, होमबहादुर वाईबा, तामाङ घेदुङका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज फुर्साङ तामाङ, घेदुङको बागमती प्रदेश सचिव हरिचन्द्र लामा, वडाध्यक्षहरु दशरथ थिङ, सागर जिम्बा, निशान मोक्तान, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सदस्य धनबहादुर स्याङ्तान (डिबी) लगयात राजनीतिक दलका प्रतिनिधि उपस्थिति रहेका थिए ।

प्रशिक्षकको रुपमा प्रतिक ङेसुर र लिलाबहादुर स्याङ्तान रहेका छन् । तामाङ घेदुङ काभ्रेको अध्यक्ष राजकुमार तामाङको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव विरेन्द्र ब्लोन (निमा)ले गरेका थिए ।

Comments

comments