काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेका कृषक समूहलाई क्षमता अभिबृद्धि तालिम दिइएको छ । वडा नं. ९ को आर्थिक सहयोग तथा छार ह्युल कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि दलमान थोकरले तालिमले कृषक समूहलाई सक्षम बनाउने विस्वास व्यक्त गर्दै तालिममा सिकेका सबै सिप ब्यबहारमा प्रयोग गर्न अनुरोध गरे । उत्पादनमुखी कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँदै उपाध्यक्ष थोकरले कृषि र पशुपालन क्षेत्रमा विशेष महत्वका साथ कार्यक्रमहरु अघि सारेको बताए ।

उनले रैथाने बाली संरक्षण र पकेट क्षेत्र विकासको लागि आगामी आर्थिक वर्षमा योजना र बजेट बनाउने प्रतिबद्धता समेत जाहेर गरे ।

कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर लामाले वडालाई उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपालन क्षेत्रमा विशेष कार्यक्रम अघि सारेको प्रष्ट पारे । सुरुवाती चरणमा किसानहरुलाई आधारभूत ज्ञानको आवश्यकता परेको बताउँदै विभिन्न प्रकारको तालिमको व्यवस्था गरेको बताए । आगामी आर्थिक वर्षमा किसानलाई प्रोत्साहन हुने खालको योजना बनाउने उनले बताए ।

कार्यक्रममा छारह्युल कृषि सहकारीका संस्थापक अध्यक्ष ग्याम्जो थोकरले वडा भित्र विभिन्न प्रकारको वालीनाली र मासु तथा दूधमा आत्मनिर्भर बनाउने वडाको योजनाको प्रसंसा गर्दै किसानमुखी कार्यक्रमलाई अझ सशक्त ढंगले अघि बढाउन वडा कार्यालय र गाउँपालिका कार्यालयलाई अनुरोध गरे ।

कार्यक्रममा वडा सदस्यहरु कान्छा लामा, श्याम तामाङ, पूर्व वडा सदस्य तथा माओवादी केन्द्रका गाउँपालिका सदस्य टेकबहादुर थोकर, किसान नेता चलाखसिं तामाङ लगायतका सहभागी थियो । तालिममा वडा नं. ९ मा रहेका ९ वटा कृषक समूहका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागी थियो ।

कार्यक्रममा सहभागीको तर्फबाट कार्साङ लामा र असलीमाया तामाङले तालिम उपलब्धिमुलक रहेको अनुभूति राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव ङेमादोर्जे थोकरले गरेका थिए भने सभापतित्व संस्थाका अध्यक्ष सूर्यबहादुर तामाङले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।