काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले खानेपानी ट्यांकी शिलान्यास गरेका छन् । आइतबार वडा नं. ८ मा २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास गरिएको हो ।

काशिखण्ड बृहत खानेपानी आयोजना अन्तर्गत खानेपानीको ट्यांकी बन्न लागेको बताइएको छ । आयोजनाबाट वडा नम्बर ८ का १ हजारका साथै वडा नम्बर ७ र ९ का ५ सय गरि १ हजार ५ सय घरधुरी लाभान्वित हुने नगरप्रमुख लामाले जानकारी दिए । आयोजना २०८१ साल मंसिर २३ गतेभित्र सम्पन्न हुने उनले बताए ।

भ्याट र पिएस रकम बाहेक १५ करोड ४७ लाख ४३ हजार १९० रुपैयाँ यो आयोजना संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुर मार्फत सञ्चालन हुनेछ । संघीय सरकारको बजेटमा निर्माण प्रारम्भ गरिएको यो आयोजनााको निर्माण गर्ने जिम्मा उच्चकोटी–अमर–नवआर्दश जेभीले पाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।