प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा ऐतिहासिक रेकर्ड बनाउने गरी काम गर्ने प्रयास गरिरहेको बताएका छन्।

पार्टी निकट कर्मचारी संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले सुशासन, सामाजिक न्याय, विकास निर्माण र समृद्धिको क्षेत्रमा रेकर्ड राख्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘मैले ९७ दिन भयो सरकारको नेतृत्व लिएको। यो बीचमा भए गरेका कामहरू तपाईंहरूले नजिकबाट देख्नुभएकै छ। सुशासन, सामाजिक न्याय, विकास निर्माण र समृद्धिको दृष्टिकोणले केही रेकर्ड बनाउने कोशिश भइरहेको छ। केही नयाँ सुरुवात पक्कै गरेका छौं। केही ठूला र नयाँ जो इतिहासमा कहिल्यै नमर्ने काम गर्ने प्रतिवद्धताका साथ मैले योजना बनाउँदैछु।’ उनले भने, ‘आज सरकारले पूर्णता प्राप्त गर्दैछ। अब हाम्रो ध्यान आर्थिक समृद्धि सुशासन र सामाजिक न्यायका दृष्टिकोणले केही ऐतिहासिक रेकर्ड बनाएर जानुपर्छ भन्ने मैले प्रतिवद्धता गरेको छु। यसमा तपाईँ कर्मचारी साथीहरूको साथ सहयोगको मैले अपेक्षा गरेको छु।’

उनले परिवर्तनका राजनीतिक आन्दोलनमा कर्मचारीले खेलेको भूमिकालाई सरकारले मूल्यांकन गर्ने पनि बताए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।