बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा पुगेका छन् । संघ, प्रदेश र गाउँपालिकाको विभिन्न आायेजनाहरुको अनुगमन गर्न र सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन मन्त्री दुलाल महाभारत गाउँपालिकामा पुगेका हुन् ।
सो क्रममा मन्त्री दुलालले महाभारत गाउँपालिका महादेवटार तीनखुट्टेदेखि गाउँपालिका केन्द्रसम्म पुग्ने ८.७ किमी सडक कालोपत्रे र दुई वटाको अनुगमन गरेका थिए । सो सडक र पुल समयमै निर्माण सम्पन्न हुन सकेको छैन ।
अनुगमनपछि आयोजित सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले काभ्रे मंगलटार स्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुर स्थित मदनभण्डारी लोक मार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गर्ने उद्घोष गरेका छन् ।
सो आयोजनाको लागि आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी २ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गर्ने मन्त्री दुलालले प्रतिबद्धता जनाउँदै ९३ किलोमिटरको जनमुक्ति मार्गलाई प्रदेश राजमार्गको रुपमा विकास गर्ने बताए । उक्त मार्गका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यो मार्गले काभ्रेको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा मकवानपुर जिल्लाका नागरिक लाभान्वित हुनेछन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान दोङ, प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री रत्नप्रसाद ढकाल, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानीखाेला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, भौतिक पूर्वाधार मन्त्रालयका सचिव शंकर प्रसाद पण्डित लगायतको उपस्थिति रहेको थियो ।
Comments