उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ८ स्थित माम्ती पुलबाट मेच्छेपौवासम्मको सडकको स्तरउन्नतीको जिम्मा सरकारले लिने बताएका छन् । शनिबार तेमाल गाउँपालिका वडा नं. ८ टेकानपुरमा नव निर्मित उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

श्रेष्ठले संघीय सांसद, प्रदेश सांसद, राजनीतिक दहलहरुसँगको समन्वयमा तेमालमा आवश्यक विकास निर्माणका कार्यहरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो अवसरमा धार्मिक ऐतिहासिक क्षेत्र तेमालमा गुम्बा निर्माण हुनु गौरवको विषय रहेको बताउँदै गुम्बा निर्माण भएकोप्रति खुशी समेत व्यक्त गरे । ‘म खुशी छु, गुम्बा निर्माणका लागि पहल कदमी लिने जगत दोङ र मायालु बहिनी, सहर्ष रुपमा जग्गा प्रदान गर्ने उहाँका बुबाआमा, आर्थिक, भौतिक वा अन्य कोणबाट योगदान पुर्याउनुहुने सबैमा विशेष धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।

गुम्बा निर्माणको काम विकास निर्माणका अरु काम भन्दा कम महत्वको नरहेको बताउँदै श्रेष्ठले कतिपयले यसलाई रुढिवादी धार्मिक कोणबाट व्याख्या गर्न सक्ने भएपनि त्यसो नभएर यो सँस्कृतिलाई बचाउने अभियान पनि भएको धारणा व्यक्त राखे । ‘परम्परागत संस्कृतिलाई निरन्तरता दिने, बचाउने साथसाथै अहिलेको मान्छेलाई आवश्यक ध्यानको दिशातिर उन्मुख गराउने पवित्र थलोको रुपमा यो गुम्बाले काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ श्रेष्ठको धाराणा थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले गुम्बाको ध्यान कक्ष, कम्पाउण्ड घेराबार लगायतका बाँकी रहेका कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

संघीय सांसद एवं पुर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले आजको व्यवस्था ल्याउन संघर्ष गरेर सहादत प्राप्त गरेका स्थानीय शहिदहरुको सम्मानमा सडकको नामाकरण र ती पूर्वाधार स्तरोन्नतीका कार्य अघि बढाउने बताए ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, विशिष्ट अतिथिको रुपमा गुरु स्याल्पा तेञ्जिन रेम्पोछे, अतिथिका रुपमा संघीय सांसद सूर्यमान दोङ, प्रदेश सांसद रत्न ढकाल, रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, तेमाल वडा नं. ८ का अध्यक्ष तेमाल सिं तामाङ, वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर लामा, पूर्व वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङ, समाजसेवी शंखबुद्ध लामा, अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष एवं समाजसेवी टासी लामा, नेपाल तामाङ घेदुङ उपाध्यक्ष सञ्चु ब्लोन, तामाङ पत्रकार संघका पूर्व अध्यक्ष विष्णु मोक्तान, वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन, महासचिव तिर्थमान वल, विकासविज्ञ एवं समाजशास्त्री संग्राम लामा, समाजसेवी एवं अभियन्ता जय गोले, विकु लामा, उदय तामाङ लगायतको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।