काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको ३ वटा विद्यालय समायोजन गरि बनेको प्रस्तावित ‘मैनाजाङ आधारभूत विद्यालय’को अभिभावक भेला सम्पन्न भएको छ । आइतबार मैनाजाङमा सम्पन्न भेलाले दमैसिं लामालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको छ ।

विद्यालय व्यवस्थपन समितिको सदस्यहरुमा रामबहादुर लामा, तिर्थ तामाङ, प्रनिसा तामाङ, लाल माया तामाङ, हिरामाया दोङ चयन भएका छन् । शिक्षक प्रतिनिधिको रुपमा डिलबहादुर दोङ सदस्यमा चयन भएका छन् । भेलाले विद्यालयको नाम ‘मैनाजाङ आधारभूत विद्यालय’ प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।

तेमाल गाउँपालिकाको १२ औं अधिवेशनले वडा नं. ९ मा रहेको श्री कालीदेवी प्रगतिशील प्रावि, श्री महांकाल प्राथमिक विद्यालय श्री विजुलीकन्या आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार आउने शैक्षिक सत्रदेखि तीनै वटा विद्यालयको माझबीचमा पर्ने गरि वडा कार्यालय रहेको मैनाजाङमा विद्यालय सञ्चालन गर्ने भएको छ । अस्थायी भवनको रुपमा ९ कोठे विद्यालय भवन समेत निर्माण अन्तिम चरणमा पुगेको वडा अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिए ।

विद्यार्थी संख्याकमी, शिक्षक दरबन्दी कमी भएकोले तीन वटा विद्यालय समायोजन गर्नुपरेको वडा अध्यक्ष लामाले बताए । भैतिक पूर्वाधार, आर्थिक विकास क्षेत्रमा वडा भित्र धेरै काम भएको र अब शिक्षामा गुणस्तरीय ल्याउनका लागि पनि विद्यालय समायोज गरिएको उनको भनाई रहेको छ । विद्यालय समायोजन पछि अभिभावकहरु उत्साहित छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।