काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा घट्ना दर्ता सप्ताह कार्यक्रम विविध कार्यक्रमका साथ मनाउने भएको छ । संघीय सरकारले आगामी २०८० साल बैशाख १ गतेदेखि ७ गतेसम्मलाई ‘व्यक्तिगत घट्ना दर्ता सप्ताह’को रुपमा घोषणा गरेसँगै तेमाल गाउँपालिकाले पनि मनाउने भएको हो ।
तेमाल गाउँपालिका पञ्जिकरण शाखा प्रमुख उद्धव पाण्डेका अनुसार घट्ना घटेको ३५ दिन भित्र आफ्ना वडा कार्यालयमा गएर निःशुल्क दर्ता गर्नुपर्ने छ । यो सप्ताहमा तेमाल बासी सबैले भाग लिन अनुरोध गरेका छन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटना घटेको ३५ दिन भित्र निःशुल्क रुपमा वडा कार्यालयमा दर्ता गर्न पाण्डेले अपिल समेत गरेको छ ।
कुन घट्ना दर्ता गर्न केके कागजपत्र चाहिन्छ ?
जन्म दर्ता गराउँदा चाहिने कागजातहरु
१. आमा वा बाबुको नागरिकता,
२. स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रमाणित कागज,
३. घरमा जन्म भएको हकमा पछिल्लो खोप कार्ड
४. विदेशी भएमा, बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
५. बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन
६. राष्ट्रिय परिचय–पत्र लिएको खण्डमा सोको प्रतिलिपि
मृत्यु दर्ताका लागि चाहिने कागजपत्रहरूः
१. मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ता (नागरिकता नबनेको भएमा),
२. सूचकको नागरिकता
३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
४. स्वास्थ्य संस्थामा मृत्यु भएमा मृत्युको प्रमाण
५ राष्ट्रिय परिचय–पत्र लिएको खण्डमा सोको प्रतिलिपि
विवाह दर्ता गराउँदा चाहिने कागजातहरूः
१. विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक हुनुपर्छ ।
२. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज ।
३. दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
४. अदालतबाट नाता कायम भएको अवस्थामा नाता कायमको कागज कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा
५ राष्ट्रिय परिचय–पत्र लिएको खण्डमा सोको प्रतिलिपि
सम्बन्ध विच्छेद दर्ता गराउन चाहिने कागजातहरूः
१. सूचकको नागरिकता प्रमाणपत्र,
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला,
३. विदेशीमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्ध विच्छेद भएको प्रमाणपत्र र कुटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट अनुवाद गरेको वा कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरेको सक्कल प्रति ।
४ राष्ट्रिय परिचय–पत्र लिएको खण्डमा सोको प्रतिलिपि
बसाइँ सराइ दर्ताका लागि चाहिने कागजातहरूः
बसाइँ सरेर जादा चाहिने कागजातहरूः
१. लगत हस्तान्तरण फाराम
२. बसाई सराई गरेर जाने सुचकको नागरिकताको प्रमाणपत्र,
३. १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता र नागरिकता नभएमा जन्मदर्ताको प्रमाणपत्र
४. परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नुपर्छ ।
५ राष्ट्रिय परिचय–पत्र लिएको खण्डमा सोको प्रतिलिपि
बसाइँ सरेर आउँदा चाहिने कागजातहरूः
१. लगत हस्तान्तरण फाराम
२. बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
३ राष्ट्रिय परिचय–पत्र लिएको खण्डमा सोको प्रतिलिपि
बसाइँ सराइ गरेर जाँदा (जुन ठाँउबाट जान लागिएको हो) र आँउदा (बस्न लागिएको नयाँ ठाँउ) दुबै ठाँउमा घटना दर्ता गर्नुपर्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















