नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेको आयोजनमा तीनदिने पत्रकारिता तालिम शुरु भएको छ । शुक्रबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एक समारोहका बीच तालिमको उद्घाटन गरेका हुन् ।
रोशी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको सो आदिवासी जनजाति सम्बन्धी खोज पत्रकारिता तथा डिजिटल मिडिया सम्बन्धी तालिम सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिका अध्यक्ष लामाले आदिवासी जनजातिहरुको पहिचान, भाषा तथा सँस्कृतिको खोज र अनुसन्धानका लागि आगामी पुस्ताले सिक्नु पर्ने थुप्रै विषयहरुलाई समेटेर तालिम आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरे ।
‘पछिल्लो समय प्रविधिका कारण भाषा र संस्कृति लोप हुँदै गएको, पहिचान हराउँदै गएको तथा आदिवासी जनजातिहरू झन् पछि पर्दै गएको अवस्थामा फोनिज काभ्रेले बदलिँदो अवस्थाको डिजिटल माध्यमसँग खोज पत्रकारिता आयोजना गरेर नयाँ पुस्तालाई जानकारी गराउनु राम्रो काम हो ।’ लामाले भने, ‘यस्ता कार्यक्रमका लागि म र गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । विशेष गरि यतिबेला खोज पत्रिकारिताको आवश्यकता रहेकोले यसबाट सिकेर सिकेका कुरा व्यवहारमा उतार्न म सबै सहभागीहरुलाई अनुरोध गर्न चाहन्छु ।’
कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष अमरध्वज लामा, रोशी गाउँपालिकाका वडा अध्यक्षहरु श्रीदास लामा, अशोक कुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, फोनिजका वागमती प्रदेश इन्चार्ज पेमा लामा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका अध्यक्ष सन्तोष चौलागाई, रेडियो प्रशारण संघ काभ्रेका अध्यक्ष सचित खड्का, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ लगायतका सहभागी थियो ।
चैत्र २४, २५ र २६ गतेसम्म चल्ने सो तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले गरेका थिए भने सञ्चालन सविच सुजर श्रेष्ठले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















