काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ को वडा कार्यालय भवनको शिलान्यास भएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर (डिएम) र वडा अध्यक्ष हजारसिं लामाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले वडा कार्यालय भवन निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन् ।

तेमालका ८ वटा वडामा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको सन्दर्भमा ५ नं. वडा कार्यालय भवन निर्माण नभएको प्रति उनले दुःख व्यक्त गरे । यस अघिको नेतृत्वसँग वडा कार्यालय भवन निर्माण गर्ने परिकल्पना नै नभेटेको समेत अध्यक्ष तामाङले बताए ।

सो अवसरमा उनले हरेक वडामा विकासको गति बढाउन वडा अध्यक्षहरुले दृढ संकल्पन गर्न जरुरी रहेको समेत प्रष्ट पारे । ‘तेमालको हरेक वडा वडामा विकासको पहुँच पुर्‍याउनका निम्ति तेमाल गाउँपालिकाले मात्र सम्भव हुँदैन, जनताले अनुमोदन गरेको वडा अध्यक्षहरुबाट दृढ संकल्प भयो भने मात्र वडाहरुको विकासले गति पाउन सक्छ ।’ उनले भने, ‘९ वटा वडाहरु मध्य प्राय सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भएको छ । मैले मेरो आफ्नै वडालाई हेर्दै गर्दा यस अघिको नेतृत्वले न यहाँ वडा कार्यालय बनाउने जग्गाको व्यवस्था गरेको छ, न कुनै सुरसार छ । डिपीआर बनेको रहेछ, कति खर्च भयो त्यो खर्च मात्र स्वाह गरेर वडा कार्यालय निर्माण गर्ने परिकल्पना समेत मैले पाएन ।’

अध्यक्ष तामाङले तेमालको सिंगो वडा वडामा पुगेर विकास निर्माणको कुरा गर्दै गर्दा यस वडामा वडा कार्यालय नै भएन भने विकास कसरी हुनसक्छ भनेर प्रश्न गरेका थिए । वडा कार्यालय निर्माण गर्नका लागि आफूले ३० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको बताउँदै उनले उपाध्यक्ष र वडा अध्यक्षको अथक प्रयत्नबाट जिल्ला समन्वय समिति, काभ्रेबाट ३० लाख रुपैयाँ बजेटको व्यवस्था भएको जानकारी दिए । उनले वडा कार्यालय बढीमा १ वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

अध्यक्ष र उपाध्यक्ष एक ढिक्का

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले आफू र उपाध्यक्ष फरक पार्टीबाट निर्वाचित भएकोले मिल्दैन र तेमालको विकास असम्भव भएको भन्ने भ्रम चिर्न आफूहरु सफल भएको बताए । उपाध्यक्ष र आफू तेमालको समृद्धि र विकासको लागि सधैं एकै ठाउँमा रहेको समेत बताए । ‘तेमालका जनताहरुलाई एउटा भ्रम फैलाएको थियो । अध्यक्ष र उपाध्यक्ष फरक पार्टीबाट जितेका छन् । तेमालको विकास असम्भव छ भन्ने कुरा पनि हामीले सुनेका थियौं ।’ अध्यक्ष तामाङले भने ‘त्यो भ्रम चिर्न आज हामी सफल भएका छौं । उपाध्यक्षज्यू आज जुनपार्टीबाट उठाएको भएपनि सिंगो तेमाललाई एउटा नमुना तेमाल सुखी तेमाल बनाउनको लागि उहाँको साथ र सहयोग मलाई रहेको जानकारी गराउन चाहन्छु । तेमालको जनताको हितको निम्ति उहाँले कुनै योजना बनाएर अगाडि बढ्नुभयो भने मेरो उहाँलाई पनि हरेक हिसाबमा साथ र सहयोग रहनेछ ।’

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, इलाका प्रहरी कार्यालय, मंगलटारको प्रमुख इन्स्पेक्टर पञ्चलाल गोले, गाउँपालिका प्रमुख इन्जीनियर रामप्रसाद ढकाल, लेखा शाखा प्रमुख सूर्यप्रसाद त्रिपाठी, शिक्षा शाखा सहायक भिमलाल दोङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरुको सहभागी थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला