आफ्नै गाउँका बहिनी नाता पर्ने एक महिलालाई भारतको दिल्ली स्थित वेश्यालयमा लगेर बिक्री गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३, सरम्थलीका प्रेम लामा भनिने ओम बहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ५९ वर्षीय तामाङले महिलालाई २०५४ साल भदौ महिनामा पैसा कमाउने काममा लगाइदिन्छु भनेर गाउँबाट काठमाण्डौ हुँदै झुक्याएर दिल्लीस्थित ३ नम्बर कोठीमा लगेर भारु ३५ हजार रुपैयाँमा बेचेको थियो ।

४ वर्षसम्म वेश्यालयमा नारकीय जीवन बिताउन बाध्य भएकी पीडित महिलाले २०५८ साल भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रेम लामा विरुद्ध जाहेरी दिएकी थिइन् । तामाङ २०७९ चैत २६ गते काठमाडौं महानगरपालिका वडा नम्बर १५ भगवानपाउबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत काभ्रेपालञ्चोकबाट जिउ मास्ने बच्ने (मानव बेचबिखन तथा ओसार पसार) मुद्दा शिर्षकमा सात दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।