काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकर (डिएम)ले पालिका भित्रको रणनीतिक सडकहरुको प्रारम्भिक अनुगमन शुरु गरेका छन् । सडकको प्रारम्भिक अनुगमन मंगलबार ह्रोसाईबा–गिम्दिबेसी सडकबाट शुरु गरेका हुन् ।

अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष तामाङ र उपाध्यक्ष थोकरले तोकिएको समय भित्रै गुणस्तरीय काम गर्न निर्माण कम्पनी थामसेर्कु कन्स्ट्रक्शनका प्रतिनिधि रोहित लामालाई निर्देशन दिएका छन् । निर्देशन पछि निर्माण पक्षका प्रतिनिधि लामाले २ महिना भित्रै तोकिए बमोजिम कार्य सम्पन्न गर्ने बताए ।

तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा एक वडा एक रननीतिक सडकको अवधाराणा अघि सारेको थियो । सोही बमोजिम प्रत्येक वडाको रननीतिक सडकको लागि गाउँपालिले ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए । सबै सडकको टेन्डर भइसकेको र निर्माण कार्य समेत अघि बढि सकेकोले प्रारम्भिक अनुगमन शुरु गरेको उनले बताए ।

यसैबीच चालु आर्थिक वर्षदेखि बाह्रै महिना यातायात सुचारु बनाउन प्रत्येक वडाबाट मुख्य सडकसम्मको सडक स्तरोन्नति गर्न लागेको उपाध्यक्ष थोकरले जानकारी दिए । गाउँपालिकाले नीति तथा कार्यक्रममै भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिएको बताउँदै थोकरले सडक राम्रो भयो भने शिक्षा, स्वास्थ्य र रोजगारमा समेत राम्रो हुने र सहज हुने विश्वास व्यक्त गरेका छन् ।

अनुगमनको लागि सो सडकमा पुगेका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल र गाउँपालिकाको प्रमुख इन्जीनियर रामप्रसाद पौडेलले निर्माण कार्य सन्तोषजनक रहेको बताए । प्रारम्भमा ठीकै देखे पनि अन्तिमसम्म पनि राम्रो हुनुपर्नेमा उनीहरुको जोड थियो ।

तेमाल गाउँपालिकाले तोकिएका सबै वडाको रननीतिक सडकहरुको स्तरोन्नति भएमा बाह्रै महिना एम्बुलेन्स सञ्चालन गर्न सहज हुनुका साथै किसानले उत्पादन गरेको कृषिजन्य वस्तुहरु बजारसम्म लान सहज हुनेमा स्थानीयको विश्वास छ । त्यसैगरि आन्तरिक तथा बाह्य पर्यटन विकासको लागि समेत रननीतिक सडकहरुको महत्व हुनेछ ।

हालको सडकहरुमा वर्षा याममा गाडी सञ्चालन हुन नसक्ने अवस्थामा रहेको छ । यो वर्षदेखि यातायात सञ्चालनमा सहज हुने पक्का छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।