काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ८ चिसापानीमा सुख्खा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार मृत्यु हुनेमा सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर २ का २३ बर्षीय कुशल नेपाली (सुन्दास) रहेका छन् ।
सुन्दासको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुख्खा पहिरोमा परी ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ घर भई चिसापानी बस्दै आएकी २३ बर्षीय सञ्जिता राई र उनका ४ बर्षीय छोरा सविक राई घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
चिसापानीमा निर्माधिन सडकमा ग्याविन जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा कामदारलाई पुरेको थियो । घटना थाहा पाए लगत्तै ईलाका प्रहरी कार्यालय पलाञ्चोक भगवतीस्थानबाट समेत उद्धारका लागि प्रहरी पुगेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















