काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा स्थायी नियुक्ति भइ आएका शिक्षकहरुको पदास्थपन कार्यक्रम सम्पन्न भएको छ । विहिबार एक कार्यक्रमका बीच पदास्थापन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकर (डिएम) र प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले शिक्षकहरुलाई स्वागत तथा बधाई दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले समुदायिक विद्यालय खस्केको प्रश्नहरु समुदायले गरिरहेको बताउँदै यसको जवाफ अब शिक्षकहरुले दिनुपर्ने बताए । शिक्षकले मात्र संसार बदल्न सक्छ भन्ने धारणा राख्दै तामाङले विद्यालयमा गम्भिर भएर कार्य सम्पादन गर्न निर्देशन दिए । तेमालमा एसईई परिक्षा फल निक्कै खस्केको अवस्थामा रहेको बताउँदै तल्लो कक्षामा सुधार नगरी एसईईको नतिजा राम्रो नआउने अध्यक्ष तामाङको भनाइ थियो ।
यसैबीच गाउँपालिका उपाध्यक्ष थोकरले आफूहरुले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै शिक्षालाई अरु पालिकामा भन्दा राम्रो बनाउने योजना रहेकोले कडा मिहनेत गर्न शिक्षकहरुलाई आग्रह गरे ।
आधारभूत लेवललाई राम्रो बनाउन जरुरी रहेको गाउँपालिकाले गर्नुपर्ने साथ सहयोग रहने थोकरले बताए ।
त्यसैगरि प्रमुख प्रशासकीय अधिकृत ढकालले पेशा प्रति लगनशिल र जिम्मेवार बन्न शिक्षकहरुलाई आग्रह गरे । ‘मैले पनि शिक्षण पेशा गरेरै यहाँसम्म आइपुगेको हुँ । शिक्षण पेशा अत्यन्तै सम्मानित पेशा हो ।’ ढकालले भने, ‘पेशा प्रति लगनशीलता र जिम्मेवार बन्न म तपाईहरुलाई आग्रह गर्दछु । बिद्यालयलाई राम्रोसँग सुधार्न अनुरोध गर्दछु ।’
तेमाल गाउँपालिकामा ३३ जना शिक्षकहरु स्थायी नियुक्ति भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























