काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले महिलाहरुलाई जापानिज भाषा पढाउने भएको छ । यसको लागि नगरपालिकाले दरखास्त आव्हान गरेको छ ।

नगरपालिकाले रिनोकिनो कम्पनी जापान र उरेसी एजुकेशन तथा तालिम केन्द्र, ललितपुरको सहकार्यमा जापानी भाषा कक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।

भाषा पढ्नका लागि धुलिखेल नगरपालिका भित्र स्थायी वसोवास गर्ने २० वर्ष पुरा भई ३० वर्ष ननाघेको अविवाहित महिला हुनुपर्ने मापदण्ड बनाएको छ । त्यसैगरि न्यूनतम १२ कक्षा उत्तीर्ण गरेको, कृषि तथा पशुपालनमा संलग्न भएको परिवारको सदस्य हुनुपर्ने, पशुपालन व्यवसायमा रुचि भएको हुनुपर्ने, सामाजिक रुपले पछाडि परेको वा अल्प संख्याक समुदायबाट आएकालाई प्राथमिकता दिईने र आफ्नो परिवारको कुनै सदस्य जापानमा नभएको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

दैनिक चारघण्टा (२ घन्टा शिक्षकद्वारा र २ घन्टा अनलाईन जापानबाट समेत) कक्षा सञ्चालन हुने, समय समयमा जापानी प्रशिक्षकहरूबाट कक्षा सञ्चालन गरिने, भाषा कक्षामा समावेश हुने प्रशिक्षार्थीहरूले मासिक ३ हजार तालिम शुल्क बुझाउनु पर्नेछ ।

प्रशिक्षार्थीहरूले आफुलाई आवश्यक स्टेशनरी वा किताबहरू आफै खरिद गर्नुपर्ने, कक्षामा पूर्णरुपमा अनुशासित भई निरन्तर संलग्न हुनु पर्ने, कुनै पनि किसिमको झुटो विवरण पेश गर्न नहुने, जापानी भाषा तथा आवश्यक सीप सिकाई तोकिएको सीप परिक्षणबाट उत्तीर्ण भएका प्रशिक्षार्थीहरूलाई निर्दिष्ट सीप अन्तर्गत कार्य गर्ने गरी ५ वर्ष कार्यकाल रहने गरी जापान पठाउन पहल गरिने नगरपालिकाले जनाएको छ ।

भाषा परीक्षा र सीप परीक्षणमा उत्तिर्ण भएका युवालाई जापानमा काम गर्न लैजाने गरी यस अघि नै धुलिखेल नगरपालिका र जापानको रिनोकिनो कम्पनीबीच सम्झौता भैसकेको छ ।

सम्झौता अनुसार निकट भविष्यमा कृषि एवं पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्न तथा प्रविधि मैत्री बनाउनका लागि गुणस्तरीय जापानी भाषा ९ल्(द्ध ीभखभ िसम्मको० तथा आवश्यक सीप सिकाई तोकिएको भाषा परीक्षा र सीप परीक्षणबाट उत्तीर्ण भएका प्रशिक्षार्थीहरूलाई जापान पठाई त्यहाँको नविनतम प्रविधिहरूमा अभ्यस्त गराई नेपाल फर्केपछि धुलिखेल नगरपालिका भित्र प्रविधि र सीपको प्रयोग गरी व्यवसाय सञ्चालन गर्न लागिएको हो । भोली कार्यालय समयभित्र दरखास्त दिन नगरपालिकाले भनेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।