७० करोड बार्गेनिङ गर्ने काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

जनताको आयोग महाअभियान नेपालले आज सेक्युरेटि प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री हुँदा बाँस्कोटाको पनि प्रत्यक्ष संलनग्ता रहेको भन्दै कारबाहीको माग गर्दै निवेदन दर्ता गरेको हो । अख्तियारमा बाँस्कोटा विरुद्ध दर्ता भएको निवेदन नम्बर ०५५४६२ रहेको छ ।

‘२०८०–०१–०४ को कान्तिपुर समाचार ‘अन्ततः सेक्युरिटी प्रेसमा मुद्धा, दुई अर्ब ६९ करोड दावी’ शीर्षकको समाचार अनुसार तत्कालिन अवस्थाका सरकारी कर्मचारीलाई मात्रै मुद्दामा तानेर सम्पूर्ण कार्यको मुख्य जिम्मेवार मन्त्रालयकै प्रमुख मानिने मन्त्री गोकुल बाँस्कोटा (सञ्चार तथा सुचना प्रविधि मन्त्री) जसको यहि विषयमा ७० करोड रूपैयाँको घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि प्रमुख दोषी भ्रष्टचार दुरुत्साहन गराउने मुख्य निर्देशकलाई भने मुद्दामा नतानी चोखै राखिएकोबारे जनताको गम्भिर ध्यानाकर्षण भई उक्त नौ जना का. निर्देशक पौडेल, इन्जिनियर पोखरेल, सहायक निर्देशक पोखरेल, शाखा अधिकृत महर्जन, लेखा अधिकृत बूढा, शाखा अधिकृत उपाध्याय, रोहितमान प्रधान, भुवन महर्जन, मित्रलाल गरौ लगायत जो जतिलाई भ्रष्टाचार गर्न बाध्य पारिएको या हौसला दिइएको मुख्य मतियार तत्कालिन मन्त्री नै रहेको दावी गर्दै उक्त नौ जना माथि तत्कालिक मन्त्री गोकुल बाँस्कोटालाई पनि थपेर कारवाही १० लाई गरिनुपर्छ । राजनैतिक दलको नेता, ठूलो पावर र पहुँच भएकै भरमा भ्रष्टाचारीलाई जोगाउनु दण्डहिनताको पराकाष्ट हो । उक्त मुद्धामा गोकुल बाँस्कोटा समेतलाई कारबाहीको लागि यो निवेदन गरिएको छ ।’ निवेदनमा भनिएको छ ।

स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्रसंग बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ७० करोड रुपैयाँ कमिसनको डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पद समेत गुमेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।