काभ्रे जिल्लामा तौल पुल पुनः सञ्चालनमा ल्याइने भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलका अनुसार बैशाख ७ गतेदेखि तौल पुल पुनः सञ्चालनमा ल्याइने भएको हो ।

आज धुलिखेलमा भएको छलफलले बैशाख ७ गते बिहान १० बजेबाट तौल पुल सञ्चालनमा ल्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

हाल जिल्लाको पनौती, केराघारी र भकुण्डेबेसीमा तौल पुल स्थापना गरिएको छ । तर तौल प्रयोग गर्न टिपर ब्यवसायीले आनाकानी गरेका छन् ।

छलफलमा सहभागि बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले आफुहरुले भने अनुसारको नभए तौल पुल प्रयोग गर्न नसक्ने बताए । ‘यदी अहिले पछिल्लो समय आएको निर्देशनको कार्यान्वयन गर्ने हो भने हामी सबै टिपरको चाबी प्रशासन कार्यालयलाई बुझाउछौँ । हाम्रा सबै उपभोक्ता भनेको काठमाण्डौँको हो ।’ चेतावनी पूर्ण शब्दमा अध्यक्ष खत्रीले भने, ‘थोरै भएपनि बढी नै सामान खोज्छन् । उसै त अहिले ब्यवसाय चौपट भैरहेको बेला झन समस्यामा ल्याउने काम नगरियोस् ।’

केराघारी र पनौतीको तौल पुल ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजि सर्भेसेज प्रा.लिले स्थापना गरेको हो । भकुण्डेको तौल पुल कोट काली सर्भेसेज प्रा.लिले स्थापना गरेको हो । तीनै ठाउँको पुलमा यसअघि पनि तौल जाँच गरिएको थियो । तर ब्यवस्थापनमा समस्या आएको भन्दै रोकिएको थियो ।

गृह मन्त्रालयले तौल पुल पुनः सञ्चालन गर्न भन्दै प्रशासन कार्यालयलाई परिपत्र गरेपछि आज छलफल भएको हो । छलफलमा तौल पुलसँग सरोकार राख्ने सबै पक्षको सहभागिता रहेको थियो ।

छलफलमा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले सार्वजिक सम्पत्ति जोगाउने दायित्व सबैको बताए । ‘जब हामी टिपर र क्रसर उद्योगको कुरा गर्न थाल्छौँ । कत्तिमा बिक्री भन्ने कमेन्ट आउँछ । अहिलेसम्म एक कप चिया समेत खाएका छैनौँ ।’ जिसस प्रमुख गौतमले भने,  ‘हामी सबै आ आफ्नो ठाउँबाट कटिबद्ध नहुने हो भने कुनै पनि काम गर्न सक्दैन । बढी भार बोक्दा सडक छिट्टै बिग्रन्छ भन्ने कुरा पनि थाहा छ । तर पनि ब्यवहारमा उतार्न मानिरहेका छैनौँ । आखिर किन ?’

प्रजिअ पाण्डेले कार्यान्वयन गरेपछि आइपर्ने समस्याको समाधान गर्दै जाने बताए । ‘हामीले कार्यान्वयनमा जाऔँ । त्यसपछि आइपर्ने समस्या समाधान गर्दै जानेछ । जुन, जुन निकायले नियमन गर्ने अधिकार पाएका छन् । उनीहरुले गर्छन् । यसमा झन्झट मान्ने र  गर्दिन भन्न कोही कसैले पाइदैँन ।’ प्रजिअ पाण्डेले भने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।