वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले काभ्रे जिल्लको भुम्लु गाउँपालिका वडा नं. १ स्थित सापिङ खानेपानी आयोजनाको शिलान्यास गरेका छन् । आइतबार एक कार्यक्रमका बीच सांसद लम्सालले सो खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले समयमै गुणस्तरीय काम सम्पन्न गराउनका लागि निर्माण पक्षलाई अनुरोध गरे । साथै सो अवसरमा लम्सालले निर्माणका बेला निगरानी राख्न उपभोक्ता र स्थानीय सरकारलाई आग्रह समेत गरे । ‘यो आयोजनामा तपाईहरुकै करबाट संकलन भएको रकम राज्यले लगानी गरेको हो । राम्रो र समयमै काम सम्पन्न गराउनका लागि तपाईहरुको खबरदारी आवश्यक छ ।’ उनले भने, ‘यो खानीखाने आयोजनामा क्रमिक रुपमा बजेट विनियोजन हुँदै जानेछ । २८ करोडको योजनामा साढे २ करोडको मात्रै ठेक्का आब्हान भयो भनेर चिन्ता नलिनु होला । काम अघि बढेपछि अलपत्र छोड्न मिल्दैन ।’

कार्यक्रममा पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले आयोजनाको काम तोकिएकै समयमा पुरा गराउन पालिकाले गर्नुपर्ने सबै प्रकारको समन्वय गर्ने बताउँदै सुनकोशी बगेको मात्रै हेर्ने र पिउने पानीको काकाकुल सहेर बस्ने दिनको अन्त्य हुने विश्वास दिलाए ।

आयोजनाको सांसद लम्सालले नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाएपछि उनकै पहलमा प्रदेश सरकारले बजेटको समेत व्यवस्था भएको थियो । लम्सालको पहलमा शुरु भएको सो आयोजनाको कुल लागत अनुगमान २८ करोडको गरिएको छ ।

तर पहिलो वर्ष भ्याट र पि.एस. सहित १ करोड ९६ लाख ५७ हजार ५६ रुपैयाँको ठेक्का सम्झौता भएर काम शुरु भएको छ । २०८० साल चैत १८ गतेभित्र यो रकम बराबरको काम हुनेछ ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष लेख बहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका इन्जिनियर श्रृष्टि खोलापाला, खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सम्पर्क कार्यालय काभ्रेका प्रमुख भवानी हुमागाई, निर्माण ब्यवसायी कुमार ढुंगेल लगायतले मन्तव्य राखेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।