हालसम्म केन्द्रीय विद्युतीकरणको सुविधा नपुगेको काभ्रेको डाँडापारी महाभारत गाउँपालिका–४ कलवन, मजुवामा बिजुली बलेको छ । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रको ग्रिड सोलार एण्ड ईफिसियन्सी आयोजनाबाट महाभारतको करिब १३० घरधुरीमा बिजुली बलेको हो ।
११ के.भी./४०० भोल्ट लाईन प्रवाह गरी प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा सुरु गरिएको साईट ईञ्चाज प्रदिप आर्यलले जानकारी दिए । उनले भने, “हालसम्म विद्युत सेवा नपुगेको यस ठाउँमा बिजुली बाल्न सफल भएका छौँ ।”
महाभारत गाउँपालिकामा ३ हजार ३ सय घर धुरी छन् । १३० घरधुरीमा बिजुली बले पनि अरु घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको केहि दिनभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पु¥याउने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले बताए । घरमा जडान गर्ने मिटर बक्स खरिदका लागि लाग्ने २ हजार ६८५ मध्ये गाउँपालिकाले प्रत्येक घरधुरीलाई अनुदान स्वरुप १ हजार रुपैंय उपलब्ध गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण र महाभारत गाउँपालिकाको पहल र समन्वयमा केन्द्रिय विद्युतको प्रसारण विस्तार गरिएको अध्यक्ष जिम्बाले बताए । महाभारत गाउँपालिका र खानिखोलाबासीलाई बत्तिको अध्यारोबाट उज्यालो बनाउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ गर्यो ।रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भएको छ ।
महाभारत गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष विशाल मोक्तानले पहिलो पटक बिजुली बल्दा गाउँलेमा उत्साह छाएको बताए । कलवनका एक स्थानीयल वर्षौंदेखिको बिजुली बाल्ने सपना अहिले पूरा भएको बताउँदै उनले बिजुली बलेपछि अब गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे ।
केन्द्रिय विद्युत प्रसारण लाईनको काम महाभारत गाउँपालिकाको अन्य ठाउँमा र खानीखोला गाउँपालिकामा धमाधम काम भईरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















