काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईं सामाजिक सुरक्षा भत्ता बोकेर टोल टोलमा पुगेका छन् । अशक्त बृद्धबृद्धाहरु सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्ने भएपछि मङ्गलवार गाउँपालिका अध्यक्ष चौंलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङ टोल टोलमा पुगेका हुन् ।

सामाजिक सुरक्षा भत्ता वितरण वडा नं. ३, माझीफेदाबाट सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्दै अध्यक्ष चौंलागाईंले जनताको सेवाको लागि आफूहरू सधैँ तल्लीन रहेको बताउँदै बृद्धबृद्धा आमाबुबाको समस्यालाई केन्द्रमा राखेर आफूले वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न आएको बताए । उनले आगामी दिनहरूमा समेत वडा वडामै वितरण गर्ने प्रतिबद्धता जनाए ।

वडा नं. ३ की १०४ वर्षकी पुन्यवति काफ्लेलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेर कार्यक्रमको सुरुवात गरेको थियो । सो अवसरमा वडा नं. ३ का १ सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पञ्जिकरण शाखा प्रमुख अनिल तामाङले जानकारी दिए ।
यसैबिच बुधवार वडा नं. २, नाग्रेगगर्चेको वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सो अवसरमा १ सय ८० जनालाई वितरण गरेको पञ्जिकरण शाखा प्रमुख तामाङले जानकारी दिए ।
कुमारी बैङ्क लिमिटेडको शाखा कार्यालय वडा नं. ६, कातिकेदेउरालीमा पुगेर भत्ता लिन स्थानीयलाई धेरै कठिन भएको अवस्थामा वडा वडामै पुगेर भत्ता वितरण गरेपछि लाभग्राहीहरू खुसी भएका छन् ।

भत्ता वितरणको लागि अध्यक्ष चौंलागाईं, उपाध्यक्ष तामाङ, वडा अध्यक्ष चित्र प्रसाद चौंलागाईं, पञ्जिकरण शाखा प्रमुख तामाङ, कुमारी बैङ्क चौरिदेउराली शाखाका कर्मचारी, इलाका प्रहरी कार्यालय कातिकेदेउरालीका प्रतिनिधि लगायतका पुगेका थिए ।
सोही अवसरमा वडा नं. ३ मा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । शिविरमा ११५ जनाले सुगर, प्रेसर, उचाइ, तौल सम्बन्धी स्वास्थ्य जाँच गराएका थिए ।
भोलि वडा नं. १, पर्सि वडा नं. ८ मा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















