काभ्रे जिल्ला पनौती नगरपालिका-४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को मूख्य कार्यालयमा सोमबार राती भएको अपराधिक घटनाप्रति नेफ्स्कून साकोस म्यानेजर्स क्लबद्वारा दुःख व्यक्त गरेको छ । क्लवका संयोजक के.बि. लामा स्याङ्तानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै दु:ख व्यक्ता गरेका हुन् ।

विज्ञप्तिमा संयोजक स्याङतानले सो घट्नामा पेशेवर अपराधिक समूहको संलग्नता भएको ठहर समेत गरेको छ । ‘संस्थाको सुरक्षार्थ खटिएका सुरक्षा गार्डलाई नियन्त्रणमा लिई संस्थाको प्रविधिगत संरचनामा समेत बाधा पुऱ्याई भल्ट नष्ट गरी नगद चोरी गर्ने कार्यमा पेशेवर अपराधिक समूहको संलग्नता भएको हुन सक्ने हाम्रो ठहर छ ।’ स्याङतानले विज्ञप्तिमा भनिएको छ, ‘यस अपराधिक गतिविधिमा संलग्नहरुलाई यथाशिघ्र नियन्त्रणमा लिई उनीहरुमा हदैसम्मको कानुनी कारवाही गर्न सबै तहको सुरक्षा संयन्त्रलाई हार्दिक आग्रह गर्दछौं ।’

 आम शेयर सदस्यमा कारोबारप्रति कुनै शंका नगर्न समेत स्याङतानले अनुरोध गरेका छन् । ‘सबै दृष्टिकोणबाट सफल रुपमा सञ्चालित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. मा भएको उक्त निन्दनीय घटनाबाट शेयर सदस्यको कारोबारमा समस्या नरहेको सञ्चालक समितिले बताएको छ । त्यसकारण आम शेयर सदस्यमा कारोबारप्रति कुनै शंका नगर्न हामी यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौं ।’ उनले भनिएका छन्, ‘साथै सहकारीको सञ्चालक तथा कर्मचारी व्यवस्थापनबाट अपराधिक गतिविधिमा संलग्नहरुको खोजी कार्यमा पूर्ण रुपमा सहयोग हुने विश्वासका साथ यस्ता अपराधिक, निन्दनीय र अमानवीय घटनाको नेफ्स्कून साकोस म्यानेजर्स क्लब घोर भर्त्सना गर्दै सहकारीहरुको सुरक्षार्थ विशेष सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनहरुलाई यसै साथ अपिल गर्दछौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।