काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले कफी खेतीलाई दिगो आय स्रोतको रुपमा छनौट गरेको छ । मुख्य आयस्रोतको रुपमा कफी खेतीलाई बनाई दिगो आय स्रोतको रुपमा विकास गर्न आर्थिक वर्षा २०७९/८० मा ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम अघि सारेको थियो ।

कफी किसानलाई प्रोत्साहन दिन अघि सारेको यो कार्यक्रम अनुसार विहिबार गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर थिङ (छिन्ताङ)ले कफी किसानहरुलाई अनुदान वितरण गरेका छन् । अध्यक्ष थिङले कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकहरुलाई सो अनुदान वितरण गरेका हुन् । सबै समूहलाई ५ लाख ४५ हजार ७ सय ७६ रुपैयाँ रकम वितरण गरेका थिए ।

चालु आर्थिक वर्षमा ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमको लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । अनुदान वितरण गरेर बाँकी रहेको रकमको भने कफी खेती कृषकहरुलाई ३५ हजार विरुवा वितरण गर्ने र नर्सरी विकासमा लगानी गर्ने अध्यक्षा थिङले जानकारी दिए ।

अनुदानको कार्यक्रम बनाउदै गर्दा आधी जति किसानले कफि बेचेकोले अनुदान रकम कम वितरण गर्नुपर्ने बाध्यता भएको उनले बताए । अनुदान वितरण गर्नु अघि समूह समूहमा गएर कफीको तौल लिने काम भएको थियो ।

‘यो वर्ष हामीले ३५ हजार केजि अनुमान गरिएकोमा १५ हजार ९३ केजि उत्पादन भएको पाइयो ।’ उनले भने,  ‘अनुदानको कार्यक्रम बनाउदै गर्दा आधी जति किसानले कफि बेचेकोले अनुदान रकम कम वितरण गर्नुपर्ने बाध्यता भएको छ ।’ समूह भन्दा बाहिर धेरै किसानहरु रहेकोले पनि छुटेको उनले बताए ।

अनुदान यो पटक मात्र हो कि भन्ने चिन्ता नगर्न किसानहरुलाई अध्यक्ष थिङले किसानहरुलाई अनुरोध समेत गरे ।  अरु नगदी बालीको लागि बजारीकरण गर्न भौगोलिक विकट्ताका कारण अप्ठ्यारो भएकोले कफीको लागि भने  बजारीकरण गर्न सबैभन्दा सजिलो देखिएकोले कफी खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखिएको उनले बताए ।

यसैबीच गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले खानीखोला गाउँपालिकाको भूगोल र किसानको लागि उपयुक्ता खेती कफी खेती भएकोले सबैजनाले कफी खेती गर्नुपर्नेमा जोड दिए ।

संविधान सभा सदस्य तथा कफी खेती किसान अक्कलबहादुर थिङले गाउँपालिको जसको उत्पादन उसैलाई अनुदान कार्यक्रमले खानीखोला गाउँपालिकाको मुख्य आर्थिक स्रोतको रुपमा कफी ब्यबसाय हुन सक्छ भन्ने कुरालाई समेत प्रोत्साहन दिएको धारणा राखे ।

जसको उत्पादन, उसैलाई अनुदान कार्यक्रम प्रति राजनीतिक दलहरु एक ढिक्का

‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम प्रति खानीखोला गाउँपालिकाका राजनीतिक दलहरु समेत एक ढिक्का देखिएका छन् । गाउँपालिकाले अघि सारेको कृषक प्रोत्साहन कार्यक्रम प्रति राजनीतिक दलका नेताहरुले समेत प्रशंसा गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका गाउँपालिका कार्य समितिका सचिव बिष्णु तिमल्सिनाले वार्षिक रुपमा लगाउनुपर्ने वालीबाट आर्थिक उपलब्धि हुन नसकेकोले कफी खेतीबाट किसानहरुले दिगो आर्थिक लाभ लिन सक्ने धारणा राखेका थिए । गाउँपालिकाले कफी खेती कृषकलाई गरेको प्रोत्साहन गरेकोमा उनले गाउँपालिकाको प्रशंसा समेत गरे । ‘हेर्दा ३५ रुपैया तर यहाँको किसानको लागि धेरै राम्रो हो । आजसम्म किसानलाई अनुदान दिएको मैले सुनेको छैन आज अनुदान पाउदैछौ । अति नै खुशी छु । गाउँपालिका प्रति आभार प्रकट गर्दछु ।’ उनले भने, बाँच्नको लागि मात्र कृषि पेशा अंगालेका थियौ| ।  अब आर्थिक आत्मनिर्भर र यहाँको कृषकहरुको जीवन स्तर माथि उठाउन यो गाउँपालिका कफि उत्पादनका लागि उपयुक्त ठाउँ रहेछ भन्ने थाहा भयो ।’

यसैबीच नेकपा एमाले गाउँपालिका कमिटीका अध्यक्ष डम्बरबहादुर तिमल्सिनाले गाउँपालिकाले कफी कृषकहरुलाई अनुदान दिनु धेरै राम्रो काम भएको बताए । ‘जसले दुख गर्छ उसले अनुदान पाउनुपर्‍यो । धेरै सर्‍हनिय काम हो यो ।’ उनले भने, ‘हाम्रो पार्टी यो कार्यको समर्थनमा छ ।’

यसैबीच नेकपा एकीकृत समाजवादीका गाउँपालिका कमिटीका उपाध्यक्ष सितादेवी आचार्यले अनुदानको कार्यक्रम यो पहिलो पटक भएकोमा खुशी व्यक्त गर्दै १ किलो बराबर ३५ रुपियाँ अनुदान दिने निर्णय गरेकोमा गाउँपालिकालाई धन्यवाद दिए । उनले अरु उत्पादनमा पनि अनुदान दिन अनुरोध गरे ।

माओवादी केन्द्रका जिल्ला सदस्य देवान सिं तामाङले जसको उत्पादन उसैलाई अनुदान भन्ने नाराका साथ अनुदान दिन शुरु गरेकोमा गाउँपालिकालाई धन्यवाद दिए । ‘हिजो आफ्नै शैलीमा कफि खेती गरेको थियो आज गाउँपालिकाले अनुदान दिएको छ । हिजो अव्यवस्थित थियो आज ब्यबस्थित बनाउदै अघि बढ्न सबै कृषकहरुलाई अनुरोध गर्न चाहन्छु  ।’

अनुदान पाएपछि किसान खुशी

कृषकलाई प्रोत्साहन स्वरुप ‘जसको उत्पादन, उसैलाई अनुदान’ दिएपछि किसानहरु खुशी भएका छन् । वड नं ६ का किसान बाबुलाल घ्लान पनि खुशी भएका छन् । विगत १२ वर्षदेखि कफी खेती गर्दै आएका उनले यो वर्ष पहिलो पटक सरकारबाट सहयोग पाएकोमा उनी खुशी देखिन्थे । वास्ताविक किसानले अनुदान पाएको उनको धारणा रहेको छ ।

वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्ने उनले यो पटक अनुदान पनि पाएको र प्राविधिक सहयोग पनि पाएको बताए । यस पटक उनले ५ सय केजी कफी उत्पादन गरिएको छ ।

कुन समूहले कति उत्पादन गरे ?

यो वर्ष अनुदान पाउने किसानहरु १ सय ७६ जना रहेका छन् । सबैभन्दा बढी  मिल्चे साना किसान कृषक समूहले कफी उत्पादन गरेको छ ।

कृषि शाखाका अनुसार सो समूहले ३ हजार १ सय ६९ केजी कफी उत्पादन गरेको छ । यसैबीच फलामेटार कफी उत्पादक समूहले ५ सय ५८ केजी, महादेवटार कृषक कफी समूहले १५ सय ९८ केजी, कोदाखरिया कफी उत्पादक सहकारी संस्था लिमिटेडले २ हजार ४ सय ५ केजी,  चाकल भिमसेन कृषक समूहले २ सय ६४ केजी, दीपज्योती कृषक समूहले ८ सय ८४ केजी, सानुखोला कफी कृषक समूहले १ हजार ८ सय ८४ केजी,  सिमलटार जनएकता कृषक समूहले १ हजार ७ सय ८५ केजी, मन्जुश्री कृषक समूहले २ हजार ६ सय २३ केजी, साल्मे कृषक समूहले ३ सय ७ केजी उत्पादन गरेको कृषि शाखाले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।