२०६२/६३ को दोस्रो जनआन्दोलनमा घाइते बनेपाका जिउँदो शहीद मुकेश कायस्थको बुधबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा उनका पिता कृष्णमान कायस्थले दागबत्ती दिएका थिए ।

बनेपा नगरपालिका–८ का कायस्थको शव बुधबार बिहान ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि बनेपा नगरपालिका कार्यालयको प्रांगणमा राखिएको थियो । नेपाल प्रहरीले शोक धुन बजाएर राष्ट्रिय सम्मानसहित बिहीबार दिउँसो ३ बजे अन्त्येष्टि गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुकेशले गणतन्त्र स्थापनामा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

कायस्थको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुष्ण्विक्रम पौडेललगायत जिल्लास्थित राजनीतिक दलका नेता, कार्यकर्ता उपस्थित थियो । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई शहीद घोषणा गर्ने प्रतिबद्धता जनाए ।

दोस्रो जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा सुरक्षाकर्मीको गोली लागी मुकेश घाइते भएका थिए । २०४८ भदौ ९ गते जन्मिएका मुकेश १७ वर्ष एक महिना अर्धचेत अवस्थामा रहे । उनको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । मुकेशको निधनमा बनेपा नगरले सबै प्रकारका सेवा बन्द गरेको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला