काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको गौरवको योजना अन्तर्गत प्रस्तावित तेमाल रंगशालाको प्याराफिट शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले संयुक्त रुपमा एक कार्यक्रमकाबीच प्याराफिटको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले खेलकुद क्षेत्रमा तेमालकै गौरवको योजना भएकोले तोकिएको समय सिमा भित्र नै निर्माण कार्य सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् । प्रदेश स्तरीय रंगशालाको रुपमा स्थापना हुन लागेको तेमाल रंगशालालाई प्रदेशकै नमुना रंगशाला निर्माण गर्न लागेको तामाङको दावी थियो ।

यसैबीच उपाध्यक्ष थोकरले रंगशाला निर्माण कार्य सम्पन्न भएपछि खेलकुद क्षेत्रमा तेमाल गाउँपालिकाले एउटा महत्वपूर्ण पक्ष भएको बताए । रंगशाला निर्माणले तेमालका युवाहरुलाई खेल क्षेत्रमा आकर्षण गराउन सजिलो हुनेमा थोकरले विश्वास व्यक्त गरे ।

राहुल कान्सट्रक्शनले निर्माणको जिम्मा लिएको सो आयोजना असार १५ भित्रमा सम्पन्न हुनुपर्ने वडा अध्यक्ष तथा प्रवक्ता तामाङले जानकारी दिए । उनका अनुसार सो आयोजनाको लागि प्रदेश सरकार र गाउँपालिका सरकारले १ करोड ८० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।
शिलान्यास कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष तथा प्रवक्ता इन्द्रलाल तामाङ, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, लेखा अधिकृत सूर्य त्रिपाटी, प्रमुख इन्जीनियर रामप्रसाद पौडेल, लामा गुरुहरु, स्थानीयको उपस्थिति थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















