काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका ४ जना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले सो सहकारीमा करिब ३३ लाख लुट्ने ४ जनालाई पक्राउ पछि आज (मङ्गलवार) सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालका अनुसार उनीहरूलाई काठमाडौँ र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । पक्राउ परेको चारै जना मकवानपुर जिल्लाका रहेको एसपी ढकालले जानकारी दिए ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय अमृत थिङ (लामा), सोही ठाउँका २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ, वडा नम्बर ५ फाखेलका ३० वर्षीय अशोक रुम्बा र रोही ठाउँका ३५ वर्षीय अकुबर लामा रहेका छन् ।

ढकालका अनुसार अमृत र सोमलाल काठमाडौंबाट पक्राउ परेका हुन् । अशोक र अकुबरलाई फाखेलबाटै नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकाहरूको साथबाट ५ लाख ४५ हजार रुपैयाँ नगद, भरुवा बन्दुक १ थान र सहकारी चोरी गर्दा प्रयोग भएका सामाग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

गत वैशाख १९ गते राति १ बजेर २० मिनेट जाँदा सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरूले लुटपाट गरेका थिए । उनीहरूलाई आजै जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । सहकारीबाट करिब ३३ लाख रूपै या चोरी गरी फरार रहेका थिए । उनीहरू व्यवसायीक रुपमा चोरीमा संलग्न रहँदै आएका छन् ।

उनीहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी न्यौपाने र इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेसम बोहरा नेतृत्वको टोली परिचालित भएको थियो ।

सहकारी लुटपाटमा संलग्न पक्राउ परेपछि सञ्चालक समितिका अध्यक्ष प्रकाश बञ्जराले नेपाल प्रहरीलाई धन्यवाद दिँदै संलग्न अन्य व्यक्ति पनि छिट्टै पक्राउ पर्नेमा आशावादी रहेको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।