नेकपा (एकीकृत समाजवादी) काभ्रेले नेपालीलाई भुटानी शरणर्थी बनाएर ठगी गरेको प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै कोणसभा सम्पन्न गरेको छ । विहिबार बनेपाको चारदोबाटोमा कार्वाहीको माग गर्दै एकीकृत समाजवादीको मोर्चा संगठनले कोणसभाको आयोजना गरिएको हो ।
कोणसभामा मोर्चा संगठनका प्रमुख गोकुल गौतमले ठगी र भ्रष्टचारले मुलुक आक्रान्त बनेको भन्दै नागरिक र स्वयम राजनीतिक दलका नेताहरु सजग हुनुपर्नेमा जोड दिए । ‘भ्रष्टाचार रहित समाज निर्माणका लागि नागरिकले घचघच्याउनु पर्नेछ । भुटानी शरणार्थी प्रकरणमा देशका राजनीतिक र प्रशासनिक तहबाट कसरी ठगी हुँदा रहेछ भन्ने पुष्टि गरेको छ । यस्ता प्रकरण आगामी दिनमा नहुनका लागि खबरदारी गर्न आवश्यक छ ।’ गौतमले भने ।
कोणसभामा युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाहले आफ्नै दलभित्रका भएपनि मुलुक र देशको हितविपरित काम गर्ने कोही कसैलाई छोड्न नहुनेमा जोड दिए । ‘हामी सभ्य समाजको परिकल्पनाका साथ अघि बढिरहेका छौँ । मुलुक एकपछि अर्को भ्रष्टचार र ठगीले दलदलमा परिरहेको छ ।’ शाहले भने, ‘यो वा त्यो बहानामा यस्तो काण्डमा मुछिएकालाई जोगाउनु हुँदैन ।
हामी हाम्रै पार्टीका नेता मुछिएको भएपनि कारबाही गर्न माग गर्छौं । जनता ठग्ने र देशको बेज्जत गर्ने कोहीपनि कारबाहीबाट नउम्किउनका लागि हाम्रो दबाब हो ।’
कार्यक्रममा अनेमसंघका जिल्ला अध्यक्ष पासाङ डोल्मा लामा, युवा संघका स्थायी कमिटी सदस्य समिप त्रिपाठी लगायतका सहभागी थिए ।
राजनीतिक तथा प्रशासनिक संलग्नमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने भन्दै ठगी गरेको आरोप पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















