नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपाल वागमती प्रदेशको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले जोसुकै भएपनि भ्रष्टाचारीलाई नछाड्ने बताउँदै जुन सुकै पार्टीको सुकै भएपनि भ्रष्टाचारीलाई कार्वाही गर्ने उनले प्रतिबद्धता जनाए ।

‘श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रुपान्तरण सहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ छ ।’ गृहमन्त्री श्रेष्ठले भने, ‘हामी कसैसँग सम्झौता गर्दैनौँ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर अर्काको देशको शरणार्थी बनाएर पैसा संकलन गर्ने, सम्पत्ति आर्जन गर्ने गिरोहहरूलाई हामीले कारबाहीको दायरामा ल्याउने पहलकदमी गरेका छौँ र ल्याइछाड्छौँ। यो हाम्रो अठोट र संकल्प हो ।’

बलिदानिपुर्ण संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै सार्वभौमिकताको रक्षाका साथै बाँकि रहेका शान्ति सम्झौताका बाँकि कार्यभार पूरा गर्ने र सुसासन, समृद्धि, सामाजिक न्यायको लागि सरकार लागेको पनि उनले बताए ।

भ्रष्टाचारका विभिन्न मुद्दा रहेको बताउँदै मन्त्री श्रेष्ठले त्यसतर्फ पनि प्रक्रिया अगाडि बढाउने उल्लेख गरे । ‘नक्कली भुटानी शरणार्थी प्रकरण त अगाडि आएको प्रकरण हो । तर, अरू पनि भ्रष्टाचार गर्ने, ठगीका केस, कालो बजारीको केस, कमिसनखोरीले देश जरजर बनाएको सन्दर्भमा हामी आँखा चिम्लेर बस्न सक्दैनौँ ।’ उनले भने ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्कालाई नगद पच्चीस हजारसहित जनपक्षीय पत्रकारिता पुरस्कार–२०८० ले सम्मान गरिएको थियो । बिगत दुई दशकदेखि बागमती प्रदेश अन्तर्गत दोलखा र काठमाडौमा रहेर निरन्तर पत्राकारिता र सङ्गठन निर्माणमा सक्रिय खड्कालाई प्रेस सेन्टर बागमती प्रदेशले उहाको कार्यको मुल्यांकन गर्दै पुरस्कृत गरेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।