अञ्जली तामाङ
बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले नेपालमा कोदोको तीनपाने रक्सी र गाँजालाई ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल वागमती प्रदेशको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रको अर्थतन्त्रमा कोदोको तीनपाने रक्सी र गाँजा नयाँ आयाम बन्ने बताएका हुन् ।

‘कोदोको तीनपाने ब्राण्डिङ गर्ने कुरा छ । अहिले हाम्रो ८० प्रतिशत पहाडी भूभाग बाँझो छ । तीनपाने रक्सी ब्राण्डिङ गर्ने हो भने ती सबै ठाउँमा कोदोबाली लाग्छ । हाम्रो राष्ट्रिय अर्थतन्त्रमा गाँजा र कोदो अर्थतन्त्रको नयाँ आयाम हुन सक्छ’ उनले भने, ‘हामीसँग पैसा छैन भन्छौँ । जग्गा कित्ताकाँट रोकियो भनेका छौँ । हामी हुने ठाउँमा चाहिँ लगानी गर्ने सोच्दैनौँ । यस्तो हुनुमा हाम्रो ऐन कानुनकै समस्या छ ।’

उनले २०३१ सालको ऐनले गाँजालाई लागूऔषध भनेर देखाएको बताउँदै भने, ‘तर, नेपाल डब्लु एचओको सदस्य हो । जसले गाँजालाई मेडिसिन भनेर परिभाषित गरेको छ । गृह मन्त्रालयले गाँजालाई नियमन गरेर ऐन संशोधन गरियो भने गाँजा देशको अर्थतन्त्रलाई आर्यस्रोत हुन सक्छ ।’
गाँजा र कोदोको तीनपाने रक्सीलाई ब्राण्डिङ गर्न प्रदेश सरकारले नसक्ने भएकोले सो कार्यक्रममा सहभागी भएका संघीय उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठलाई यसको लागि पहल गर्न अनुरोध समेत गरे ।

‘प्रदेशबाट पहल गर्न मिल्ने भए मैले गर्थें तर संघीय सरकारले गर्नुपर्ने हुन्छ ।’ उनले भने, ‘माननीय संघीय गृहमन्त्री ज्यूलाई म पहल गर्नका लागि अनुरोध गर्न चाहन्छु ।’ जवाफमा संघीय गृहमन्त्री श्रेष्ठले पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।