अञ्जली तामाङ

काभ्रे । बागमती प्रदेश युवा परिषद अन्तर्गत जिल्ला युवा समिति काभ्रेपलाञ्चोकको आयोजनामा दुई दिने महिला आत्मरक्षा तालिम शनिबार श्री लक्ष्मी नारायण कृषि प्राविधिक माध्यामिक विद्यालय रोशी वडा नम्बर –२ मा सम्पन्न भएको छ ।

जेठ ५ गते शुक्रबारबाट सुरु भएको उक्त तालिम रोशी गाउँपालिका वडा नम्बर –२ का वडा अध्यक्ष हस्तमान लामा, वडा नम्बर –१ का वडा अध्यक्ष श्री दास लामाले संयुक्त रुपमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर–२ का वडा अध्यक्ष हस्तमान लामाले वर्तमान समयमा महिलाहरु पहिलेको तुलनामा निकै असुरक्षित हुदै गरेको बेला यस्ता खालको प्रशिक्षणले महिलाहरुमा आत्मविश्वास बढ्ने बताए । यसैगरी वडा नम्बर–१ का वडा अध्यक्ष श्री दास लामाले यस्तो तालिमहरु वडा स्तरमा पनि चलाउनु पर्ने देखिएको र यस्ता योजनाहरु ल्याउनु पर्ने बताए ।

रोशी गाउँपालिकाको वडा १, २ र ३ का सामुदायिक विद्यालयका छात्राहरुले तालिममा भाग लिएका थिए । श्री चेतना माविबाट १० जना, श्री देवी माविबाट १० जना र श्री लक्ष्मी नारायण कृषि माध्यमिक विद्यालयबाट २० जना गरी ४० जना विद्यार्थीहरुलाई प्रशिक्षक रुपा थापा, निर्मला राउतले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि श्री लक्ष्मी नारायण कृषि प्राविधिक माविका प्रधानध्यापक काजीमान लामाले यस्ता तालिमको आयोजना गरेकोमा जिल्ला युवा समिति काभ्रेप्रति आभार प्रकट गदै महिलाहरुमाथि हुने हिंसा न्युनिकरण गर्न यस्ता तालिमको आयोजना विद्यालय स्तरबाट नै हुनपर्ने बताए ।

त्यसैगरी समापन कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला युवा समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश थापाले महिलाहरु माथि भएको हिंसा दुव्र्यवहारबाट बच्न ,महिलाहरुको आत्मबल बढाउन, साथै महिलाहरुमाथि हुने हिंसालाई न्युनिकरण गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको तेमाल अनलाइनलाई बताए

कार्यक्रममा जनप्रतिनिधि, खहरेपाँगु प्रहरी चौकीका इञ्चार्ज शम्भु प्रसाद यादव, विद्यालयका प्रतिनिधि शिक्षक राम लामा, उमेश परियार, जिल्ला युवा समितिका सदस्य केशव मैनाली, समाजसेवी लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।