काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जेष्ठ नागरिकहरुलाई लौरो र छाता वितरण गरेका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष निशान मोक्तान र अध्यक्ष थिङले संयुक्त रुपमा सो सामाग्री वितरण गरेका हुन् ।

कार्यक्रममा गाउँपालिकाका थिङले ६० वर्ष नाघेका बृद्धबृद्धाको घुम्ती शिविरमार्फत नियमित मासिक रुपमा स्वास्थ्य परिक्षण लगायतका कार्यबाट गाउँपालिका सरकार नागरिक समस्या समाधान गर्ने साझा चौतारी बन्ने उद्देश्यले अघि बढिरहेको अवस्थामा वडाले छाता र लौरो वितरण गरेकोप्रति खुशी व्यक्त गरे । उनले आगामी दिनमा गाउँपालिकाले जेष्ठ नागरिकको पक्षमा थप कार्यक्रम ल्याउने बताए ।

उनले छाता र लट्ठी वितरण गरेर वडा अधयक्ष मोक्तानसहितका वडा कार्यालयका टिमले समाजमा अनुकरणीय काम गरेको बताए । यो कार्यले जेष्ठ नागरिकलाई सेवा गर्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको उनले बताए ।

सो अवसरमा वडाभित्रका ६३ जना जेष्ठ नागरिकलाई छाता र लौरो वितरण गरिएको थियो । वर्षादलाई लक्षित गरी पानी पर्दा ओत लाग्ने छातासँगै हिँडडुल गर्न सहाराका लागि लौरो वितरण गरिएको वडा अध्यक्ष मोक्तानले जानकारी दिए ।

‘जेष्ठ नागरिकहरुलाई पानी पर्दा ओत लाग्ने छाता र हिड्डुल गर्न सहज होस् भनी लौरो वितरण गरिएको छ ।’ वडाध्यक्ष मोक्तानले भने, ‘वडाको सानो सहयोगले उहाँहरु (जेष्ठ नागरिक)को मुहारमा देखिएको खुशीले मलाई सन्तुष्ट बनाएको छ । अझै केही गर्ने उर्जा थपेको महसुस गरेको छु ।’

वडाध्यक्ष मोक्तानले कान्छिमाया तामाङ फाउन्डेशनको सहयोगमा खानीखोला–४ स्थित् जगथलीमा एक कार्यक्रमबिच जेष्ठ नागरिकहरुलाई छाता र लौरो वितरण गरिएको बताए । आवश्यकताको आधारमा अन्य उमेर समूहका मानिसलाई पनि लट्ठी प्रदान गर्ने उनको भनाई छ ।

फाउन्डेशनका अध्यक्ष दिलबहादुर तामाङले भगवान खोज्न मन्दिरमा नभई घरभित्रैका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताए । वडा सचिव रामकृष्ण आर्यालले जेष्ठ नागरिकको पहिलो सहारा भनेकै छाता र लट्ठी भएको बताए । उनका अनुसार पुरुष २६ र महिला ३७ जना गरी ६३ जना जेष्ठ नागरिकलाई छाता र लट्ठी वितरण गरिएको छ ।

कार्यक्रममा खानीखोला–५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, खानीखोला–४ का निवर्तमान वडाध्यक्ष वीरबहादुर वाईबा, घरेलुका प्रमुख यादवनाथ अचार्य, गाउँपालिकाको न्यायीक समिति सदस्य देवान लामा, नेकपा माओवादी केन्द्रका नेता दावा घिसिङ, नरबहादुर थिङ, नेकपा एमाले वडा कमिटीका इन्चार्ज नेत्र वाईबा, कुमारी माविका प्रधानध्यापक लालबहादुर घिसिङ, विर प्राविका प्रधानध्यापक भरत लामा लगायतका उपस्थिति रहेका थिए । जेष्ठ नागरिकहरुले छाता र लट्ठी पाउँदा समेत हर्षिद् देखिएका स्थानीयहरुले निर्वाचनमा सही मान्छेलाई भोट दिएर जिताएछौँ भन्ने महसुस भएको सुनाईन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।