काभ्रे जिल्ला तेमाल गाउँपालिकाका किसानहरुलाई कृषि सामाग्री वितरण गरेको छ । आज बुधबार एक कार्यक्रमका बीच किसानहरुलाई गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले संयुक्त रुपमा वितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले कृषिमा यन्त्रीकरण गर्ने गाउँपालिकाको योजना अनुसार कृषि सामाग्री वितरण गरेको बताए । वितरण कार्यले किसानको जीवनमा थोरै भएपनि जीवनस्तर माथि उठ्नेमा उनले विश्वास व्यक्त गरे । राज्यको सम्पत्ति भएकोले सामाग्रीको जगेर्न गर्न किसानहरुलाई उनले आव्हान गरेका छन् ।

त्यसैगरि गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले तेमाल गाउँपालिका पनि कृषिमा यन्त्रीकरण भएको महासुस आफूले गरेको बताए । तेमालको समग्र कृषिलाई उर्बरा बनाउन मद्दत पुग्ने बताउँदै थोकरले तेमाललाई उत्पादनमा आत्मनिर्भर बनाउनमा विश्वास व्यक्त गरे । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै पर्याप्त मात्रमा किसानहरुलाई कृषि सामाग्री वितरण गर्ने बताए ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले स्वागत मन्तव्य राख्दै कृषि यन्त्रमा तेमाल गाउँपालिकाको पछाडि भइरहेको अवस्थामा गाउँपालिकाले अब यान्त्रीकरणको लागि शुरुवात गरेको बताए ।

कार्यक्रममा मिनि टिलर (हाते ट्याक्टर) ४७ वटा, इलेक्ट्रीक स्प्रे पम्प ८५ वटा, प्लास्टिक टनेल ९५ वटा वितरण गरिएको कृषि शाखा प्रमुख कुलदीप पहाडीले जानकारी दिए ।

कृषि सामाग्री प्राप्त गरेपछि खेतीपाती गर्न सहज हुने किसानहरुले बताए । गोरु पाल्ने चलन गाउँबाट लोप हुँदै गइरहेको अवस्थामा यसरी कृषि यन्त्र पाएपछि किसानहरु खुशी देखिन्थे ।

Comments

comments