काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । मंगलबार एक समारोहका बीच पालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले सो पाठ्यक्रम विमोचन गर्दै सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौंलागाईंले स्थानीय विषयवस्तु जान्न पाउनु हरेक वालवालिकाको नैसर्गिक अधिकार भएकोले स्थानीय पाठ्यक्रम निर्माणले बालबालिकाको अधिकार स्थापित हुनेमा विश्वास व्यक्त गरे । यो स्थानीय पाठ्यक्रम लागु भएपछि गाउँपालिका भित्रको भुगोल, सामाजिक अवस्था, पर्यटन, वन जंगल, धर्म संस्कृति लगायतका विषय बालबालिकाहरुले जान्ने उनले दावी गरे । स्थानीय पाठ्यक्रम निर्माणमा योगदान पुर्‍याउने सबैलाई उनले धन्यवाद ज्ञापन गर्दै सबै विद्यालयमा राम्रोसँग लागु गर्न उनले अनुरोध समेत गरे ।

पाठ्यक्रममा स्थानीय विषय वस्तुहरु, धार्मिक, साँस्कृतिक, पर्यटन, सामाजि र राजनीतिक विषय, वन जंगल, भूगोल, ऐतिहासिक स्थानहरु, बालीनाली लगायतका विषयबस्तु समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए । पाठ्यक्रम निर्माणमा स्थानीय शिक्षक, प्रधानाध्यापक, शिक्षाप्रेमी, स्थानीय जनता, जनप्रतिनिधि, कर्मचारी, शिक्षा विज्ञ लगायतको सहभागी भई निर्माण गरिएको लामाले बताए ।

चालु शैक्षिकसत्रबाटै सो पाठ्यक्रम लागु भएको उनले बताए । ‘यो स्थानीय पाठ्यक्रम यो शैक्षिकसत्रबाटै लागु भएको छ । कक्षा १ देखि ८ कक्षासम्म यो लागु हुनेछ ।’ प्रमुख प्रशासकीय अधिकृत लामाले तेमाल अनलाईनलाई भने, ‘यो पाठ्यक्रम १ सय पूर्णाङ्क रहेको छ, हालको लागि कक्षा १ देखि ५ कक्षासम्म मात्र लागु गरिएको छ । आगामी वर्ष कक्षा ६ देखि ८ कक्षासम्मै लागु हुनेछ ।’

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शेरबहादुर लामा, वडा नं. ९ को वडा अध्यक्ष रामबहादुर लामा र वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईं, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, कर्मचारीहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।