तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको कृषक समूहहरुलाई शतप्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको छ । आज (मंगलबार) वडा कार्यालयमा वडा भित्र रहेको विभिन्न कृषक समूहहरुलाई वडा अध्यक्ष चन्द्रबहादुर लामाले कृषि सामाग्री वितरण गरेका हुन् ।

परम्पम्परागत कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीमा विकास गर्न किसानहरुलाई प्रोत्साहन स्वरुप कृषि सामाग्री वितरण गरिएको वडा अध्यक्ष लामाले जानकारी दिए । आफ्नो वडामा कृषि नै मुख्य आयस्रोत रहेको बताउँदै उनले किसानको हरेक समस्यामा एकाकार हुने प्रतिबद्धता जाहेर गरे ।

वडा नं. ९ रहेको ९ वटा कृषक समूहहरुलाई कृषि सामाग्री वितरण गरेको वडा सचिव पवन ओलीले जानकारी दिए । सचिव ओलीका अनुसार कृषक समूहहरुलाई इलेक्ट्रोनिक पम्प ४५ थान र मकैमा पर्ने किरा विरुद्धका विषादी करिब १६ सय पकेट वितरण गरिएको छ ।

ओलीका अनुसार डुंगेटार टोड्के कृषक समूहलाई ४ वटा, सानो ठूलोटार कृषक समूहलाई ५ वटा, ठूलोगाउँ कृषक समूहलाई ४ वटा, पराङगाङ कृषक समूहलाई ४ वटा, मुक्पा खत्रीगाङ कृषक समूहलाई ७ वटा, पालुघाट सवालदेव कृषक समूहलाई ७ वटा, शहिद भिमध्वज कृषक समूहलाई २ वटा, एकीकृत चोपाटार कृषक समूहलाई ७ वटा र मिलिजुली कृषक समूहलाई ५ वटा इलेक्ट्रोनिक स्प्रे मेशिन वितरण गरिएको छ । प्रत्येक घरधुरीमा पुग्ने गरि विषादी वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वितरण कार्यक्रममा वडा सदस्यहरु कान्छा लामा र श्याम तामाङ लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।