बागमती प्रदेश फुटबल संघको प्रथम अधिवेशनबाट काभ्रेका निरोज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको अधिवेशनले श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।
प्रथम अधिबेशनले एक अध्यक्ष, तीन उपाध्यक्षसहित १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । तीन जना उपाध्यक्षमा नुवाकोटका दिपक लाल चित्रकार, दोलखाका बाबुराजा श्रेष्ठ र सिन्धुपाल्चोकका राजिवमान सिंह बस्नेत रहेका छन् भने महिला सदस्यमा काभ्रेकी सुनौना श्रेष्ठ चयन भएकी छिन् ।
अधिवेशनले सदस्यहरुमा ललितपुरका दिपक थापा मगर, नुवाकोटका राम कुमार कोइराला, सिन्धुपाल्चोकका कपिल पाख्रिन, भक्तपुरका अनिल हेक्का, दोलखाका सुमन खड्का, दोलखाकै अनिल श्रेष्ठ, काभ्रेका अबोध भुषण खोजु श्रेष्ठ, भक्तपुरका निश्चल बस्नेत, सिन्धुलीका विशाल श्रेष्ठ कोजु र काभ्रेका प्रभात कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
महासचिव १ जना, सह–महासचिव २ जना र कोषाध्यक्ष १ जना अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको र सो अनुसार संघको बैठकले मनोनित गर्ने छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अग्रजको योगदान सहकार्य र अग्रजहरूले देखाएको एकताको माध्यमबाट संघलाई अगाडि बढाउने बताए । उनले नेपाली फुटबलको गुम्दै गएको शाख फर्काउने प्रतिवद्धता व्यक्त गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























