काठमाडों-  चार दलीय समाजवादी मोर्चा घोषणा गरिएसँग सहमति पत्र समेत सार्वजनिक गरेको छ । सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाले सहमति पत्र समेत सार्वजनिक गरेको हो ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा मोर्चाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ । यस्तै मोर्चाको निर्णय प्रक्रिया, नेतृत्व, संगठनात्मक प्रक्रियालगायतका विषयमा पनि सहमतिपत्रमा स्पष्ट गरिएको छ ।

सहमतिपत्र हेर्नुहोसः

समाजवादी मोर्चा, नेपाल (Socialist Front, Nepal )

१. प्रस्तावना

नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य, धर्मनिरपेक्ष, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय एवम् विविधता युक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने मान्यता राख्दै,

राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनको पक्षमा इतिहासको विभिन्न कालखण्डमा भएकाज नआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह, एकीकृत जनक्रान्ति तथा आदिवासी जनजाति, खस, थारु, मुस्लिम, महिला, दलित, पिछडावर्ग लगायत उत्पीडित एवम् शोषित जनताले गरेको त्याग, बलिदान र उत्सर्गको उच्च सम्मान, सहीदहरूप्रति श्रद्धाञ्जली एवम् घाइते, बेपत्ता, सहीद परिवार र आम नेपाली जनताप्रति आभार प्रकट गर्दै,

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, धर्मनिरपेक्षता, लोककल्याणकारी राज्य, समावेशी लोकतन्त्रल गायतका लोकतान्त्रिक मूल्य मान्यता र समाज विकासको क्रममा विकसित ज्ञान, विज्ञान र प्रविधि समेतको आधारमा समाजवादी गणतन्त्रात्मक राज्य निर्माण गर्ने सङ्कल्पगर्दै,

जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह लगायतका विभिन्न समुदायले गरेका आन्दोलनबाट विकसित २०६२/६३ सालको जनक्रान्तिका उपलब्धी स्वरूप प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागतविकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवम् सामाजिक न्याय सहितको अग्रगामी रूपान्तरण तथा नेपाली विशेषताको समाजवादको लक्ष्य प्राप्ति तर्फ दृढतापूर्वक अगाडि बढ्ने सङ्कल्पगर्दै,

मुलुकमा विद्यमान रहेको राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एबम् साँस्कृतिक समस्या र चुनौतिको सामनागर्न तथा राष्ट्रिय राजनीतिमा पश्चगामी, यथास्थितिवादी रअग्रगामी राजनीतिक प्रवृत्ति विद्यमान रहेको वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको पहलकद्मी आवश्यकता छ भन्ने कुरा हृदयङ्गमगर्दै,

संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र सङ्घीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेद रहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापनागर्ने उद्देश्यले हामीनिम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि समाजवादी मोर्चा, नेपाल (Socialist Front, Nepal) गठन गर्न सहमतभएका छौं ।

२. मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरू

सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापनागर्नु मोर्चाको प्रमुख उद्देश्यहुने छ । त्यस उद्देश्य प्राप्तिका लागि हाम्रा वैचारिक एवम् राजनीतिक प्रतिबद्धताहरू निम्न बमोजिम रहेका छन् ।

१. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने ।

२. नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने । त्यसका लागि निरन्तर जनपहल र जनदवाव सृजनागर्ने । मानवविकास सूचाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सेती महाकाली लगायत पिछडीएको क्षेत्र रजनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने ।

३. राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिकरूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडावर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्नवर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने,

४. जनताको नागरिक र राजनीतिकअधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने,

५. वित्तीय एकाधिकार तथा दलालपुंजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ- राजनीतिक व्यवस्था अवलम्बनगर्ने । प्रगतिशील कर प्रणाली लागू गर्ने । देशको अर्थव्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्थागर्ने ।

६. आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगार मूलक व्यवसाय गर्न प्रोत्साहितगर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदानगर्ने । गरिवी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने ।

७. वैज्ञानिक भू-उपयोग नीतिलागू गर्दै कृषिक्रान्तिको माध्यमबाट कृषिको औद्योगीकरण, व्यवसायिकरण र आधुनिकीकरण गरी कृषिमानिर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, उर्जा, जलश्रोत, बन,उद्योग, वाणिज्य, पर्यटन, सूचनाप्रविधि, भौतिक पूर्वाधार, यातायात लगायतको क्षेत्रलाई आर्थिक समृद्धिको सम्बाहकको रूपमा विकास गर्ने ।

८. शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकतादिने । सबैकालागि गुणस्तरीय शिक्षा, स्वास्थ्यसेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको
प्रत्याभूति गराउने । शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निः शुल्कउपलब्ध गराउने।

९. जलवायु परिवर्तन, वातावरणीय प्रदुषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने,

१०. गुणस्तरीय सेवाप्र वाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनका परिपाटी स्थापितगर्ने, समग्रिक योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखा परेको अनियमित्तता, प्रशासनिक ढिलासुस्ति, भ्रष्टाचार, कमिशनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने,

११.सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूबिचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्वतथा स्रोत साधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यकातर्फबाट प्रदानगरिने सेवा सुविधाहरू जनतामा पुऱ्याउन प्रदेश तथा स्थानीय तहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने ।

१२. देशको स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षागर्न एवम जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको वडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधारमानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अबलम्वन गर्ने,

१३. विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेता/कार्यकर्ताहरू माथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाईका लागि आवश्यक कानूनी र राजनीतिक पहल गर्ने । विभिन्न राजनीतिक दलहरूसँग भएका सहमतिर सम्झौताहरू कार्यान्वयन गर्ने ।

१४. समाजको विविधतायुक्त चरित्रअनुरूप राष्ट्रिय लोकतान्त्रिक र बैज्ञानिक संस्कृति प्रवर्द्धन गर्ने । जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्ने । प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने ।

१५.समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारकाशोषण, उत्पीडन र विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एबम् न्यायमा आधारित सामाजिकव्यवस्थानिर्माण गर्ने । श्रम-संस्कृतिलाई प्रोत्साहित गर्ने । श्रमजीवी जनताको पहलकदमीमा आर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने ।

३. सङ्गठनात्मक संरचना

मोर्चाको नीतिगत निर्णय गर्न सदस्यदलहरूको अध्यक्ष सहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समितिहुने छ। उक्त समितिले आवश्यकताअनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने छ समितिले समान उद्देश्य, नीति, कार्यक्रम बोकेका र मोर्चाका अवधारणालाई समर्थन गर्ने राजनीतिक दलहरूसँग वार्ता गरी यस मोर्चामा सामेल गर्नसक्ने छ । यो मोर्चालाई आवश्यकताअनुसार प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने छ ।

४. सचिवालय

मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय हुने छ, जसमा सदस्य दलहरूबाट तोकिए बमोजिमका प्रतिनिधिहरू रहने छन्।

५. सदस्यता र घटक दलहरूको स्वायत्तता यस सहमति-पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन् । मोर्चा निर्माण भइसके पछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ । यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफनो गतिविधि गर्ने छैनन् । तर आफ्नो अलग कार्यक्रममा पार्टी नीति अनुरूप काम गर्न स्वतन्त्र हुने छन् ।

६. मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया

र्मोर्चाको नेतृत्वशिर्ष नेताहरूले आलोपालो गर्ने छन् । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूपहुने छ । यस मोर्चाका सदस्यहरूले साझानीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने छन् ।

७. नीति तथा कार्यक्रम

मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकता अनुसार कार्यविधिहरू बनाउने छ र समय सापेक्ष परिमार्जन गर्ने छ । मोर्चाले घटक सदस्यहरूबिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार, अन्तर्क्रिया, आमसभा तथा आवश्यकतानुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

माधवकुमार नेपाल अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

उपेन्द्र यादव अध्यक्ष, जनता समाजवादी पार्टी, नेपाल

नेत्र विक्रम चन्द ‘विप्लव’ महासचिव, नेपाल कम्युनिष्ट पार्टी

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।