बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेंसीमा विवाहित महिलाहरुबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विहिबार यस वडाका विभिन्न महिला समूहमा रहेका विवाहित महिलाहरु बीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले हरेक निकायमा महिला सहभागिताको सवाल पटक–पटक उठ्दै आउनु सकारात्मक भएको बताउँदै वडा स्तरमा हुने यस प्रकारका कार्यक्रमले महिलाहरुका अधिकार र कर्तव्यहरुको ग्यारेन्टी गर्दै उनीहरुलाई ती अधिकार र कर्तव्यहरुको पूर्ण उपयोग गर्न सक्ने अवस्थामा पुर्याउने भएकाले गाउँपालिकाले पालिकाका महिलाहरको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक स्रोतमा महिला जनशक्तिको पहुँच बढाउने गतिविधि गर्दै आइरहेको बताए । सीपवान् र दक्ष जनशक्ति नै राज्य शक्तिको आधार भएकाले गाउँपालिकाले महिलाहरुको सीप अभिवृद्धिका लागि विभिन्न गतिविधि गर्दै आएको जानकारी दिए ।
कार्यक्रमका सभापति, वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुुसुधन तिमल्सिनाले वडाका महिलाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विना विभेद व्यवहार गरिएको दावी गरे । महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन वडाले विभिन्न गतिविधि गर्दै जाने उनले बताए ।
प्रतियोगितामा जनज्योति महिला समूह प्रथम भएको छ । त्यस्तै सगरमाथा महिला समूह दोश्रो र नमूना महिला समूह तेश्रो भएको छ । यससँगै प्रथम हुने टिमले नगद रु ७ हजार, दोश्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा वडा भित्रका प्रगतिशील महिला समूह, जनज्योति महिला समूह, बाघ भैरव महिला समूह, सयपत्री महिला समूह, चन्देवी महिला समूह, सगरमाथा महिला समूह, नमूना महिला समूह, लालीगुराँस महिला समूह, नवज्योति महिला समूह र जनचेतना महिला समूहले भाग लिएका थिए ।
यस्तै सोही दिन सम्पन्न भएको म्युजिकल चेयर प्रतियोगिता अन्तर्गत विवाहिततर्फ लक्ष्मी तिमल्सिना र अविवाहिततर्फ दिपा दाहाल प्रथम भएका छन् । विजेताहरुले नगद रु १ हजार र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । द्वितीय र तृतीय हुनेहरुले विवाहित तर्फ मखमली गोले र मञ्जु दाहाल तथा अविवाहिततर्फ ज्योति दाहाल र रक्षा दाहालले क्रमश नगद रु ७।७ सय र ५।५ सय पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका प्रशासकीय अधिकृत विश्वनाथ दाहाल, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न महिला समूहका प्रदाधिकारीहरु, वडा नं. १ भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, दलीय प्रतिनिधी, शिक्षक विद्यार्थीहरु तथा स्थानीयको बाक्लोे उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























