चुडामणी तिमल्सिना
बेथानचोक– बागमती प्रदेशसभा सदस्य सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले बेथानचोक गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरेका छन् । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सांसद बादे समक्ष अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्न प्रस्ताव पेश गरेका थिए ।

घोषणासँगै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउनेमा बेथानचोक गाउँपालिका पहिलो स्थानीय तह बनेको छ ।

‘एक घर एक ग्राज्युयट, एक घर एक प्राविधिक’

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बादेले शिक्षामा गरिएको लगानीको प्रतिफल तुरुन्तै प्राप्त नहुने बताउँदै शिक्षाको लगानी खोज्न कम्तिमा आधा दशक पर्खिनु पर्ने बताए । शिक्षकहरुले शिक्षा प्रदान गर्ने सवालमा कुनै सम्झौता नगरी नतिजा निकाल्न समेत उनले आग्रह गरे ।

‘सक्षम जनशक्ति उत्पादनमा सामुदायिक विद्यालय अग्रभागमा रहेको बताउँदै उहाँले शिक्षकहरुले अल्छी गर्न हुन्न । राज्यले नीतिगत रुपमा विद्यालयस्तरको शिक्षालाई अनिवार्य गरेकोले यसलाई मुर्त रुप दिन हामीले संविधान निर्माणका क्रममा धेरै काम गरेका छौं ।’ उनले भने, ‘अनिवार्य शिक्षालाई संविधानको मौलिक हकले व्यवस्था गरेकोले अभिभावकले समय समयमा विद्यालय पुगेर बालबालिकाको प्रगति विवरण लिनु पर्छ । शिक्षामा दीर्घकालिन लक्ष्य लिएर ‘एक घर एक ग्राज्युयट, एक घर एक प्राविधिक’को अवधारणा लिएर स्थानीय तहले शिक्षामा लगानी गर्न म आग्रह गर्न चाहन्छु ।‘

‘हामीले संविधान कार्यान्वयन गरेका हौं’ – अध्यक्ष अधिकारी

कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधान अनुरुप आफूहरुले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन बेथानचोक घोषणा गर्न कार्य गरेको बताए ।

गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्न सहयोग पु¥याउने मेन्टर, गणक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, जनप्रतिनिधि सबैलाई धन्यवाद दिंदै अध्यक्ष अधिकारीले कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गरिएको, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडा स्तरमा जनप्रतिनिधि (वडा सदस्य) लाईसमेत परिचालन गरिएको बताए ।

अध्यक्ष अधिकारीले शुक्रबारलाई झोला रहित कक्षाका रुपमा सञ्चालन गरी उक्त दिन विद्यार्थीहरुका बहुआयामिक प्रतिभा प्रस्फुटन हुने खालका गतिविधि सञ्चालन गर्ने पनि बताए ।

शिक्षा पवित्र कर्ममा दत्तचित्त भएर लाग्न शिक्षकलाई निर्देशन

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले चौरमा पढाई हुने हिजोको संरचनाबाट सुविधासम्पन्न भवन र प्रविधियुक्त कक्षा कोठा भए पनि सामुदायिक विद्यालयका सिकाइ उपलब्धी दिनानुदिन खस्किदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

शिक्षा प्रदान गर्नेजस्तो पवित्र कर्ममा दत्तचित्त भएर लागि पर्न उपाध्यक्ष रानाले शिक्षकहरुलाई आग्रह समेत गरे ।

समय सीमा भित्रै कार्यक्रमलाई सफल तुल्याउन विशेष भूमिका निर्वाह गर्ने शिक्षा शाखा, गणक तथा सम्बन्धित सबैलाई धन्यवाद दिंदै रानाले राज्यले लिएको २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने यो महाअभियानमा बेथानचोक जिल्लामै पहिलो हुन सफल भएकोप्रति खुशी व्यक्त गरे ।’

अध्यक्ष अधिकारीद्वारा पेश गरेको प्रस्तामा के छ ?

‘काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिकाका ६ वटै वडा कार्यालयमार्फत ४ हजार १ सय ७७ घरधुरीमा बालबालिकाहरुको विवरण संकलन गर्दा प्रचलित कानून अनुसार चार वर्ष पुरा भई तेह्र वर्ष उमेर पुरा नभएका पाँच जना बालक र दुई जना बालिका विद्यालय बाहिर रहेको भेटिएको र उहाँहरुलाई स्थानीय विद्यालयमा भर्ना गरिएकोले गाउँ शिक्षा समितिको मिति २०८० असार १२ गतेको निर्णयानुसार आज मिति २०८० साल असार १३ गते बुधबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन बेथानचोक घोषणा गर्न बागमती प्रदेशसभा सदस्य माननीय कञ्चनचन्द्र बादे श्रेष्ठज्यू समक्ष प्रस्ताव पेश गर्दछु ।’

कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राई, राष्ट्रिय स्वतन्त्र पार्टी बेथानचोकका सभापति भीमप्रसाद तिमल्सिना, नेकपा एमालेका प्रतिनिधि बेदप्रसाद तिमल्सिना, नेपाली कांग्रेस बेथानचोकका सभापति एवं गाउँपालिकाका निवर्तमान अध्यक्ष गोपाल बहादुर तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।