बेलायतमा निधन भएकी दोलखा मेलुङ गाउँपालिकाकी २१ वर्षीया सदिक्षा तामाङको स्मृतिमा २५ लाख २५ हजार ५२५ रुपैयाँको अक्षय कोष घोषणा गरिएको छ ।

उच्च शिक्षाका लागि बेलायत पुगेकी दिवङ्गत सदिक्षाको ४९ औँ दिनको पुण्य तिथिमा उनका बुबा कृष्णकुमार थोकर (तामाङ) ले धार्मिक, शैक्षिक तथा सामाजिक प्रयोजनमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोष स्थापनाको बारेमा थोकरले बुधवार सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । उनले सो रकमलाई बढाएर वार्षिक आउने व्याजबाट शैक्षिक तथा धार्मिक कार्यमा खर्च गरिने बताए ।

सदिक्षाको ४९ औ पुण्य तिथिमा बौद्ध धर्म परम्परा अनुसार अन्तिम बिदाइ पूजा (घेवा) धर्मगुरु टुल्कु साङ्गे शेडुब तेन्जिन रिन्पोछेबाट काठमाडौँ बौद्धको शेर्पा गुम्बामा सम्पन्न गरिएको छ ।

कृष्णकुमार शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् । सदिक्षा गत २६ डिसेम्बर २०२२ मा बेलायत गएकी थिइन् । २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिक्षा शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव कृष्णकुमार थोकरका जेठी छोरी हुन् ।

बेलायतको बेडबर्ड्सायर युनिभर्सिटीबाट उच्च शिक्षा सुरुवात गरिएको सदिक्षाको वैशाख २८ गते निधन भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।