बनेपा– कवि राजु स्याङतानको ‘ओ पेङदोर्जे’ कविता बाचन भएको छ । साथै ‘ओ पेङदोर्जे’ कविताको बारेमा अन्तरक्रिया समेत भएको छ ।
शनिबार बनेपा नगरपालिका हलमा आयोजना गरिएको सो कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल र निबन्धकार तथा समालोचक कुमारी लामाले कविताप्रति टिप्पाणी गरेका थिए ।
कार्यक्रममा बरिष्ठ साहित्यकार दुवालले राजु स्याङतानको ‘ओ पेङदोर्जे’ कवितामा जनताको आवाज समेटिएको, सरल भाषा, विम्ब, संकेतलाई राम्रोसँग प्रयोग गरेको टिप्पणी गरे । राज्य सत्ता विरूद्धको आवाज समेत कवि स्याङ्तानले कवितामा भरपुर स्थान दुवालले बताए ।
यसैबीच निबन्धकार तथा समालोचक लामाले कविताले ईतिहासको उत्खनन गरेको दाबी टिप्पणी गरे । ‘कवितामा प्रश्न उठाईएको छ । कविताले विद्रोहको ठूलो आवाज उजागर गरेको छ । छायाँमा परेका, पुल मुनिका कथा, सिमान्तकृत वर्गको आवाज बुलन्द पारिएको, भुईमान्छेको कथा समेटिएको छ ।’ लामाले भने, ‘पहिचानको कुरा समेटिएको छ । रैथाने परम्परालाई उजागर गरिएको छ । सांस्कृतिक पहिचानको कुरालाई उठाएको छ । विचारको खेती बढी छ ।’
जात र लिंगलाई समेत कवितामा कवि स्याङतानले उचित स्थान दिएको बताउँदै लामाले तामाङ समुदायको दमनपूर्ण ईतिहास सशक्त ढंगले कविता मार्फत बाहिर ल्याउन कोशिस गरेको उनको भनाइ रहेको थियो ।
‘अझै पनि धेरै करा छुटेको छ । कवितामा सक्लो पेङ्दोर्जे भेटाउन भने मुस्किल छ । कवितामा माधुर्यता भेटाउन गाह्रो छ, कर्कश रहेपनि उठान निकै राम्रो रहेको छ ।’ उनले भने, ‘फेरिदो विभेदका रेखा घनिभूत रुपमा कविता मार्फत बाहिर ल्याउने कोशिस गरिएको छ । यो कवितामा छुटेका कुरा अर्को कवितामा पक्कै पनि समाहित हुनेछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























