पनौती– विवादका कारण स्थगित भएको काभ्रे जिल्लाको पनौती नगरपालिकाको १३ औं नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । यस अघि असार १० गते शुरु भएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

कर्मचारी भर्ना सम्बन्धी विषयमा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद निकालेपछि नगरसभा स्थगित भएको थियो । तर सोमबार आयोजित सभामा उक्त प्रस्ताव कार्य सूचीमा समावेश गरिएन ।

सभामा ०८०/०८१ को लागि नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम र उपप्रमुख गिता बञ्जाराले अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्यवसहितको बजेट प्रस्तुत गरेका थिए ।

प्रमुख भण्डारीले पेश गरेको नीति तथा कार्यक्रम र उपप्रमुख बञ्जाराले पेश गरेको अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्यय सहितको बजेट सर्वसम्मत पारित गरेको छ ।

समृद्धि पनौती निर्माणको अभियानलाई तीव्रता दिने नीति

नगर प्रमुख भण्डारीले पनौती नगरपालिकाले तय गरेको ‘पनौती नगरको दिगो विकासको आधार, गतिशील अर्थतन्त्र, प्रविधि र पूर्वाधार’ भन्ने नारालाई सार्थक बनाउन समृद्धि पनौती निर्माणको अभियानलाई तीव्रता दिने नीति पेश गरेका छन् । त्यस्तै भण्डारीले नदी एवं खानीजन्य श्रोतको उत्खनन, प्रशोधन ओसारपसारलाई व्यवस्थित गराउँदै वडा नम्बर २ र १२ का प्रभावित क्षेत्र सिमांन गरी खानीजन्य क्षेत्र घोषणा गरिने उनले बताएका छन् ।

नगर प्रमुख भण्डारीले आगामी वर्ष नगर स्तरीय योजनाहरु ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताएका छन् । सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगर स्तरीय सबै र वडा स्तरीय १० लाख रुपैयाँ भन्दा माथिका सबै योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख गरिएको छ । यता बजेटमा जनसहभागिता मार्फत ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

वडा कार्यालय पुग्ने सडक कालोपत्रे, सिसि क्यामेरा जडान, ढलको पहुँच नभएका स्थानमा सोकपिट बनाउन प्रेरित गर्ने, जेटिङ्ग मेशिनको प्रबन्ध गर्ने, नगर क्षेत्रका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण सम्र्वद्धन र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने समेत नीति तथा कार्यक्रममा समेटेका छन् ।

सुशासन तथा संस्थागत विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, महिला तथा बालबालिका, बालमैत्री स्थानीय शासन, पूर्वाधार विकास, सम्पदा, वन तथा वातावरण, पर्यटन, सहकारी, पञ्जिकरण तथा सामाजिक सुरक्षा, विपद व्यवस्थापन, सूचना तथा प्रविधि, प्राकृतिक श्रोत व्यवस्थापन, सार्वजनिक सम्पत्ति उपयोग तथा संरक्षण, प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत नगरपालिकामा गर्ने विभिन्न योजना र कार्यक्रमका बारेमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पनौती नगरको बजेट १ अर्ब ५० करोड

नगर सभामा नगर उपप्रमुख बञ्जाराले आर्थिक वर्ष २०८०।०८१ का लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । सभामा नगरपालिकाको आन्तरिक आय ४० करोड ७१ लाख, राजश्व बाँडफाँडबाट २० करोड ९ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित जोडेर १ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन् ।

नगर सभामा अर्थ विधेयक वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रस्तुत गरेका थिए भने विनियोजन विधेयक वडा अध्यक्ष विपिन लामाले प्रस्तुत गरेका थिए ।

०७९।०८० को वार्षिक प्रगति प्रतिवेदन वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । यता लेखा समिति गठन कार्यविधि २०८० सम्बन्धी प्रस्ताव वडा अध्यक्ष जयराम केसीले प्रस्तुत गरे भने लेखा समितिको प्रतिवेदन वडा अध्यक्ष शहकुलकुमार हुमागाईँले प्रस्तुत गरेका थिए ।

न्यायिक समितिको प्रतिवेदन कार्यपालिका सदस्य चण्डिका परियार, मेलमिलापकर्ताहरुको नाम सूचीकृत सम्बन्धी प्रस्ताव कार्यपालिका सदस्य राधिका विश्वकर्माले प्रस्तुत गरेकी थिइन् ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला