धुलिखेल- काठमाडौं विश्वविद्यालयका विद्यार्थीले ‘चिट चोर्न’ नपाएपछि निरिक्षकलाई डर, त्रास, धम्कि दिने, हतोत्साहित गर्ने र मानसिक प्रताडना दिने गरेको पाइएको छ । २०८० साल असार ३१ गतेको दिन सञ्चालन भएको विश्वविद्यालयको अन्तिम सेमेस्टर परिक्षामा विद्यार्थीले ‘चिट चोरेको’ पाएपछि नियम अनुसार सामान्य कार्वाही गरेको भन्दै परिक्षा निरीक्षक माथि यस्तो व्यवहार गरेको जनाएको छ ।
विद्यार्थीले यस्तो हर्कत गरेको भन्दै काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा. डा. विवेक बराल र महासचिव डा. विकास अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै यसको विरोध गरेका छन् ।
सो हर्कतलाई अप्राज्ञिक र गुण्डा गर्दी शैलीको संज्ञा दिंदै विश्वविद्यालय प्रशासनलाई समेत गम्भिर रुपमा लिन विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विश्वविद्यालयको प्रतिष्ठा र विश्वसनीयता उक्त विश्वविद्यालयको परिक्षा प्रणालीमा पनि भर पर्दछ । काठमाडौं विश्वविद्यालयको परिक्षा प्रणाली विश्वसनीय भएकै कारणले समाजमा यो विश्वविद्यालयको छवि उच्च रहेको कुरा कसैले नकार्न सक्दैन । यसका लागि यहाँ कार्यरत प्राध्यापक, कर्मचारी तथा यहाँका विद्यार्थीहरुको ठुलो भूमिका रहेको छ । यति हुँदा हुदै केहि दिन यता परिक्षामा समर्पित प्राध्यापकलाई विभिन्न माध्यम बाट डर, त्रास र धम्कि दिने, हतोत्साहित गर्ने र मानसिक प्रताडना दिने कार्य निरन्तर भैरहेको कुरामा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ । सो कुराको व्यहोरा परिक्षा संचालन गर्ने निकायलाई जानकारी गराइसकिएको छ ।
आफुले परिक्षामा खटाएको निरीक्षक माथि भइरहेको संगठित दुव्र्यवहार विरुद्ध मौन रहनुले सम्बन्धित प्राज्ञिक पदाधिकारीको गैरजिम्मेवारीपन झल्किन्छ । कर्तव्य पालन गर्दा गर्दै पनि हुने गरेका यस्ता अप्राज्ञिक गतिविधी निस्तेज गर्ने, आफ्ना निरीक्षक एवं अन्य सम्बन्धितहरुको सुरक्षाको प्रत्याभूति र आगामी दिनमा संचालन गर्ने परीक्षाहरु थप मर्यादित एवं अनुशासित बनाउने विषयलाई सम्बन्धित निकायहरुले गम्भीर रुपमा लिनुपर्ने कुरा काठमाडौं विश्वविद्यालय प्रशासन समक्ष यस संघ जोडदार माग गर्दछ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























