बनेपा– काभ्रे जिल्लामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले ०७९।०८० को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार श्री प्रदीप थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाको आ.ब ०७९।८० को वार्षिक लक्ष्य तथा कार्य प्रगति लगायत कार्य सञ्चालन र कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको छलफल गरी आगामी चालु आ.बको लक्ष्य प्राप्तिका लागि अपनाउनु पर्ने रणनीति र कार्य योजनाका बारेमा सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरूले प्रस्तुत गरेका थिए । साथै उक्त कार्यक्रममा विभागीय प्रमुखहरूले विभागीय कार्य प्रगति र संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको एकमुष्ट कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए ।

संस्थाको आ.ब ०७९।८० सम्म आई पुग्दा संस्थामा शेयर सदस्य सङ्ख्या ५० हजार पाँच सय ८७, शैक्षिक बाल बचत कर्ता १० हजार गरी कुल सेवाग्राही ६० हजार पाँच सय ८७ जना रहेको गोष्ठीमा जानकारी दिएको छ । संस्थाको कुल सम्पत्ति ४ अर्ब ५७ करोड २८ लाख पुर्‍याउन संस्था सफल भएको प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङ्तानले बताए ।

होटेल उग्रचण्डी बनेपामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असुली उपसमिति, शिक्षा तथा तालिम उपसमिति, लघुवित्त उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी एवं सदस्य लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सचिव डोरेन्द्रराज सापकोटाले गरेका थिए भने सहभागीहरूलाई स्वागत सञ्चालक समितिका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।