नमोबुद्ध– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका समुदायमा डेंगी सङ्क्रमण बढ्ने जोखिम रहेको भन्दै डेगीं विरुद्धको अभियान तीव्र पारिएको छ । राष्ट्रिय अभियानसँगै नगर भरि ‘खोज र नष्ट गर’ अभियान तीव्र पारिएको हो ।
नमोबुद्ध स्वास्थ्य शाखाको संयोजनमा नगर प्रमुख कुन्सङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता टिकाबहादुर केसीसहित वडाअध्यक्षहरु, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवाला समेतको सहभागितामा डेंगी सार्न सक्ने लामखुट्टेको सम्भावित वासस्थान भएका पुराना टायर, ड्रम लगायतमा सञ्चित गरिएका पानी पोखिनुका साथै स्वास्थ्य सचेतना समेत गरिएको स्वास्थ्य शाखा प्रमुख भगीरथ अधिकारीले जानकारी दिए ।
उनका अनुसार, साउन १४ र १५ गते भकुण्डेवेशीमा बुच्चाकोटदेखि नौबिसे सम्म र साउन १७ र १८ गते नमोबुद्ध देखि दाप्चा बजारसम्म लामखुट्टेका सम्भावित वासस्थान नष्ट गरिएको थियो । साउन १८ गते नै कानपुर क्षेत्रमा डेंगी नियन्त्रणका लागि माइकिङ गरिएको थियो । अभियान अन्तरगत दाप्चा माध्यमिक विद्यालय, श्रीकृष्ण माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थीको सहभागितामा सचेतना गरिएको छ । अन्य विद्यालय र समुदायमा पनि सचेतना गराइने अधिकारीले जानकारी दिए । डेंगीको परीक्षण, उपचार र व्यवस्थापन तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।