नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो ।

विज्ञहरुका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए । नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए ।

‘सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षमुनिका प्रत्येक एक सय जना बालबालिका मध्ये अहिले २५ जनामा अर्थात प्रत्येक चार जनामध्ये एक जना बालबालीकामा पुड्कोपना छ ।’ थापाले भने,  ‘तथ्याङ्कले पुड्कोपनामा सुधार भएको देखाउँछ । पुड्कोपना, ख्याउटेपना, कम तौल भनेर भन्छौं त्यो चाहीँ पोषणमा सुधार भयो । पोषण भन्दा बित्तिकै बहुआयामिक विषय हो । खानपान, सरसफाई, खाद्यान्नको उपलब्धतामा सुधार हुने विषय भित्र पर्छ । घर परीवार सचेत हुँदापनि पोषणमा सुधार आउँछ ।’

पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा  सुधार ल्याउनुपर्ने उनले बताए ।  थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुुपर्ने बताए ।

सचेतनामुलक कार्यक्रम सञ्चालन

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताए ।

लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षापनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेको बताए । सरकारले पुड्कोपना न्युनिकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ बर्षमुनीका वच्चा, गर्र्भवति र ४५ दिनसम्मका सुत्केरीलाई  फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको उनले जानकारी दिए ।

सरोकारवालाहरुले पोषण बहुआयामिक क्षेत्रसँग जोडिएकाले पोषणमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने औंल्याएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।