भक्तपुर । सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार हाइटमा अवस्थित ह्याङला आदिवासी तामाङ समाजद्वारा निर्माण गरिएको उर्गेन साङ्गे छ्योइलिङ गुम्बा अब औपचारिक रूपमा उद्घाटन हुने भएको छ। लामो समयको समर्पण, श्रमदान र सहयोगबाट निर्माण सम्पन्न भएको उक्त गुम्बा अब धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित हुने चरणमा पुगेको हो।

स्थानीय समुदायको एकता र आस्थाको प्रतीक बनेको यस गुम्बाले बौद्ध धर्मको संरक्षण मात्र नभई तामाङ समुदायको पहिचान र मौलिक संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। गुम्बा परिसर भविष्यमा धार्मिक साधना, शिक्षा तथा सांस्कृतिक कार्यक्रमहरूको केन्द्र बन्ने विश्वास गरिएको छ।

उद्घाटन समारोहलाई विशेष बनाउँदै बौद्ध धर्मगुरु क्यावगोन फोक्चोक रिन्पोर्छेको गरिमामय उपस्थिति रहनेछ भने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यता रहने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष कर्मा लोप्साङ लामाले जानकारी दिएका छन्। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, धर्मावलम्बी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम आगामी २०८३ वैशाख १७ गते बिहान ८:०० बजेबाट सुरु हुने तय गरिएको छ। आयोजकले सम्पूर्ण धर्मप्रेमी, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

धार्मिक स्थलको रूपमा मात्र सीमित नरही, उर्गेन साङ्गे छ्योइलिङ गुम्बा तामाङ समुदायको आस्था, एकता र सांस्कृतिक पहिचानको जीवित प्रतीकका रूपमा स्थापित हुने विश्वास लिइएको छ। यस उद्घाटन समारोहलाई स्थानीयस्तरमा एक ऐतिहासिक तथा गौरवपूर्ण क्षणका रूपमा हेरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।