काठमाडौँ । तामाङ सांगीतिक क्षेत्रको नयाँ प्रस्तुति ‘खाल्से स्होजि चु माया (कसले बनायो यो माया)’ को म्युजिक भिडियो हिजो औपचारिक रूपमा सार्वजनिक गरिएको छ। डम्फू मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शक तथा स्रोतामाझ विशेष आकर्षण गर्ने सक्ने अपेक्षा लिएको छ।

प्रेम, भावना र जीवनका मिठा अनुभूतिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतमा गायक अमृत लामाको स्वर रहेको छ भने शब्द रचना कुमार स्याङ्बोको रहेको छ। संगीत संयोजन पवन वाङ लामाले गरेका छन्।

तामाङ चलचित्र क्षेत्रका महानायक आमिर दोङको निर्देशनमा तयार भएको भिडियोमा आमिर दोङ, निशा घिसिङ, तिर्था वाइबा र क्रेक्षा वाइबाको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोले प्रेम सम्बन्धका उतारचढाव, मायाको मिठास र भावनात्मक पक्षलाई सुन्दर दृश्यमार्फत प्रस्तुत गरेको छ।

छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन तथा पोस्ट प्रोडक्सन डम्फू मिडियाले नै गरेको हो। भिडियोको रंग संयोजन कृष्ण ब्लोनले गरेका छन्।

विशेषगरी युवापुस्तालाई लक्षित गर्दै निर्माण गरिएको यस गीतले आधुनिक शैलीसँगै तामाङ संस्कृतिको झल्को पनि दिन खोजेको देखिन्छ। गीतको शब्द ‘खाल्से स्होजि चु माया’ ले मायाको उत्पत्ति र गहिराइबारे प्रश्न उठाउँदै दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भएको छ।

हाल सार्वजनिक भएको यो म्युजिक भिडियोले तामाङ सांगीतिक बजारमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यस गीतले आगामी दिनमा अझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।

भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।