तेमाल- काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले आफ्नो मातहतका सम्पूर्ण सामुदायिक विद्यालयमा आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। पाठ्यक्रमले तोकेको निर्धारित शैक्षिक उपलब्धि हासिल गर्ने सुनिश्चितताका लागि गाउँपालिकाले सातामा छ दिन नै विद्यालय सञ्चालन गर्ने निर्णय लिएको हो।

गाउँ कार्यपालिकाको वैशाख १६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले २०८३ वैशाख ४ गते विद्यालय सञ्चालन सम्बन्धी सुझाव कार्यान्वयनका लागि परिपत्र गरेको थियो। यद्यपि, तेमाल गाउँपालिकाले स्थानीय भौगोलिक अवस्था, विशिष्ट आवश्यकता र अभिभावकहरूको परामर्शलाई विशेष ध्यान दिँदै आइतबार बिदा दिँदा शैक्षिक क्षति हुन सक्ने निष्कर्ष निकालेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङद्वारा जारी सूचनामा, विद्यार्थीको सिकाइ उपलब्धिमा प्रतिकूल असर पर्न नदिन साताको छ दिन नै पठनपाठनको व्यवस्था मिलाउन सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिइएको छ।

यस निर्णयसँगै अब तेमाल गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूले आइतबारसहित नियमित पठनपाठनको कार्यतालिका मिलाउनुपर्ने भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।