काठमाडौं । तामाङ गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय मोडल सोम वाइवाको नयाँ वियोगान्त गीत ‘ख्लासी निबा’ आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल र सांगीतिक वृत्तमा उल्लेखनीय चर्चा बटुल्न थालेको छ।

गायक तथा संगीतकार कोशिस थोकरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले प्रेम, विछोड, पीडा र भावनात्मक सम्बन्धको गहिरो कथा बोकेको छ। गीतमा शब्द, संगीत तथा स्वर चर्चित गायक कोशिस  थोकरकै रहेको छ। मायामा आउने उतारचढाव, सम्बन्धभित्र लुकेको संवेदना र विछोडको मौन पीडालाई गीतले अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको अनुभूति हुन्छ।

विशेषगरी युवापुस्ताको प्रेम जीवनसँग जोडिने भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस गीतमा मोडल सोम वाइवा, निशा घिसिङ र पाल्देन लामाले जीवन्त अभिनय गरेका छन्। उनीहरूको अभिनयले गीतको भावनात्मक पक्षलाई अझ प्रभावकारी बनाएको दर्शकहरूको प्रतिक्रिया रहेको छ।

पाल्देन लामाको निर्देशनमा निर्माण गरिएको भिडियोमा प्रेम सम्बन्धका मिठा क्षण, आत्मीयता, विश्वास र अन्ततः विछोडको पीडालाई आकर्षक दृश्य संयोजनमार्फत उतारिएको छ। भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन तथा प्रस्तुति पक्ष पनि निकै आकर्षक देखिएको छ।

यस गीतको संगीत संयोजन तथा मिक्सिङ युवा गायक तथा संगीतकार सानूबाबु घिसिङले गरेका छन्। आधुनिक संगीत शैली र भावुक शब्दको संयोजनले गीतलाई अझ सशक्त बनाएको सांगीतिक क्षेत्रका जानकारहरूको भनाइ छ।

‘ख्लासी निबा’ सार्वजनिक भएसँगै तामाङ गीत–संगीत क्षेत्रमा नयाँ स्वाद थपिएको चर्चा हुन थालेको छ। प्रेम र विछोडको वास्तविक अनुभूति बोकेको यस गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।