बनेपा– काभ्रे जिल्लाकाे ब्यापारीक केन्द्र बनेपामा हिन्दुहरुको महान पर्व वडादशैंलाई लक्षित गरेर महाेत्सवको आयोजना गरिने भएको छ ।  ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ ‘बनेपा महोत्सव–२०८०’ को चौथो संस्करण असोज १९ गतेदेखि कार्तिक ४ गतेसम्म आयोजना गरिने भएको हो ।

महोत्सव बनेपा ब्वाईज क्लबले आयोजना गर्न लागेको महोत्सवकोव शनिवरा एक पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो । क्लबका अध्यक्ष महेश कर्माचार्यले महोत्सवले काभ्रे जिल्लाको सुन्दर तथा व्यापारिक नगरी बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रवर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको बताए ।

महोत्सवमा के–के हुन्छ ?

महोत्सवमा बालबालिकाहरुका लागि मनोरञ्जनका लागि बालउद्यानको व्यवस्था गरिने छ भने हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुलाई सम्मिलित गराउँदै जिल्ला भित्रका नवप्रतिभावान कलाकारहरुलाई विशेष प्राथमिकता दिइनेछ ।

बिहानको समयमा खेलकुद प्रतियोगिता हुनेछन् भने दिउँसोको समयमा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक र प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछन् । साँझको समयमा राष्ट्रिय स्तरका कलाकारहरु सहभागी हुनेछन् । महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र बनेपा सम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन हुनेछन् ।

यसरी गर्दै छ तयारी

महोत्सवको तयारीका लागि मेलाको संरक्षकका रुपमा मातृ संस्था बिबिसी रहनेछ भने व्यवस्थापनको जिम्मा संयुक्त नेपाल मेला महोत्सव ग्रुपले गर्नेछ ।

महोत्सवको प्रमुख सल्लाहकारमा रामराज जोशी, मुख्य संयोजक पारसमणि कायस्थ, संघ संस्था समन्वय संयोजकमा सरोज तिमल्सिना, प्रशासन व्यवस्थापन संयोजकमा राज तिमल्सिना, खेलकुद प्रतियोगिता संयोजकमा किशोर बरुण, भलिबल प्रतियोगिता संयोजकमा जितेन्द्र श्रेष्ठ, मार्सल आर्ट प्रतियोगितामा नरेशराज कायस्थ, फुटबलमा राजु लामा, गायनमा रविनसन श्रेष्ठ, नृत्यमा प्रताप हुमागाईँ संयोजक रहेका छन् ।

शुल्क कति लाग्छ ?

महोत्सवमा सहभागी हुन आउनेहरु मध्ये जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई निःशुल्क सहभागिताको अवसर हुनेछ भने विद्यार्थीहरुका लागि ४० रुपैयाँ र अन्यका लागि ६० रुपैयाँको टिकट लाग्नेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।