धुलिखेल– काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तह मध्ये जिल्लाको ४ वटा स्थानीय तह सम्मानित भएका छन् ।

जिल्लाको महाभारत र खानीखोला गाउँपालिका तथा धुलिखेल र बनेपा नगरपालिका छुट्टा –छुट्टै विधामा जिल्लामा पहिलो भएर सम्मानित भएका हुन् ।

उनीहरुलाई आज(शुक्रबार) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको ७ औँ सभामा काठमाडौं विश्व विद्यालयको अडिटोरियम हल धुलिखेलमा सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी माननीय अर्थमन्त्री डा. प्रकाश शरण महतले सम्मान गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) जिल्लाको अति विकट महाभारत गाउँपालिका र सदरमुकाम सहितको धुलिखेल नगरपालिका पहिलो भएका छन् ।

एफआरएमा जिल्लाको ७ वटा गाउँपालिका मध्ये महाभारत गाउँपालिका पहिलो भएको त्यस्तै ६ वटा नगरपालिका मध्ये धुलिखेल नगरपालिका पहिलो भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा पनि जिल्लाको ७ वटा गाउँपालिका मध्ये दुर्गम भेगमै पर्ने खानीखोला गाउँपालिका पहिलो भएको छ ।

लिसामा काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो बनेपा नगरपालिका प्रथम भएको छ । ६ वटा नगरपालिका मध्ये बनेपा लिसामा पहिलो भएको हो । यो आर्थिक वर्ष २०७७–७८ को नतिजाको आधारमा सम्मानित गरिएको हो ।

यसैबीच जिससले सभाको अवसर पारेर काठमाण्डौ विश्वविद्यालय र मेरो भ्वाईस युनिभर्सका सेकेण्ड रनरअप शरण हुमागाईलाई समेत सम्मान गरेको छ । त्यसैगरी सभा मार्फत जिसस हालै मात्रै धनकुटा जिल्लामा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई विदाइ गरेको छ ।

जिल्लाभित्रका संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी निकायबाट हुने कार्यहरुमा जिल्ला समन्वय समितिले निरन्तर रुपमा समन्वय, सहकार्य, सहजीकरण र अनुगमनका कार्यहरु गरिरहेको जिसस प्रमुख दिपक गौतमले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।